प्रस, वीरगंज, १० पुस/
नेपालको अर्थतन्त्र दिन प्रतिदिन खस्किंदै जाँदा यसको असर अहिले गाउँमा पर्न थालेको छ ।
परिवार पाल्ने उद्देश्यले शहर पसेका युवाहरू काम नपाएपछि गाउँमैं फर्कन थालेका छन् । गाउँमा पनि रोजगार नपाएपछि युवाहरू दिनभरि तास खेलेर दिन कटाइरहेका छन् ।
धोबिनी गाउँपालिका–३ गुलरिया निवासी अगुवा बुनिलालप्रसाद कुर्मीले टोलका सयौं युवा रोजगारका लागि नारायणगढ, गोरखालगायत नेपालका विभिन्न शहरमा पुग्ने गर्थे तर अहिले उनीहरूले काम नपाएपछि गाउँमैं फर्किएको बताए ।
लामो समयदेखि नेपालका विभिन्न शहरमा काम गरी आफ्नो आर्थिक स्थितिलाई सुधारेका युवाहरू यतिबेला रोजगार गुमेपछि गाउँमैं फर्केर दिन कटाउने गरेका छन् ।
उनले अर्थतन्त्रको बारेमा आफूलाई त्यति धेरै जानकारी नभएको बताए । उनले बैंकले पनि ऋण दिन नमानेपछि अहिले कामको हाहाकार भएको बताए ।
लामो समयदेखि नारायणगढमा राजमिस्त्रीको काम तथा घर निर्माणको ठेकेदारी गर्दै आएका लङ्गडीका हरेन्द्र साहले अहिले काम नपाएपछि बेरोजगार भएको बताए । उनले आठवटा नयाँ पक्की घर बनाउने ठेक्का पाएकामा अचानक घरधनीले काम रोकेपछि दर्जनौं कामदारलाई फिर्ता पठाएको बताए ।
ठूलाठूला भवन निर्माणको ठेक्का लिने ठेकेदार साहले घरधनीले अग्रिम भुक्तानी नदिएको कारण काम गर्न नसकिएको बताए । उनले नेपाल तथा भारतका सयौं कामदारलाई घर पठाएको बताए ।
त्यस्तै, काठमाडौमा छोला–भटुरा बेच्ने एकजना पसले पनि आफ्नो व्यापार घाटामा गएपछि गाउँ फर्किएको बताए । काठमाडौंको असनमा सडकपेटीमा व्यापार गर्ने लङ्गडी निवासी जगाली साह दास सहपरिवार काठमाडौंमैं बस्ने गर्छन् । सोही कामले ५० वर्षदेखि परिवारको पेट पाल्दैछन् तर पछिल्लो केही समयदेखि उनलाई पनि समस्या हुन थालेको छ । दैनिक दुई हजारसम्म व्यापार गर्ने अहिले उनलाई परिवारको पेट पाल्नसमेत गा¥हो भएको प्रतिक्रिया दिए । उनले पनि केही दिनमैं गाउँ फर्किने बताएका छन् ।