प्रस, परवानीपुर, १० पुुस/
जनताले सार्वजनिक सम्पत्ति संरक्षण, प्रवद्र्धन र विकासका निम्ति जनप्रतिनिधिलाई जिताउँछ तर बारामा एकजना जनप्रतिनिधिले सार्वजनिक सम्पत्ति नै हिनामिना गर्ने कार्यमा संलग्न रहेको पाइएको छ । यो घटना बारा, प्रसौनीको वडा नं ६ को हो ।
सो वडाका अध्यक्ष बृजकिशोर कुशवाहाले गएराति सोही वडामा पर्ने भलुहीचोकभन्दा उत्तरमा रहेको ऐलानी जग्गामा लगाइएका सिसौं, सेमर, शिरीषलगायतका आठवटा रूख कटानी गराएर ट्याक्टरमा लोड गरी चिरान मिल र बेलहियाको घरमा पठाएको अवस्थामा प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनी र गण्डक तथा प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जयसवाल एवं जनप्रतिनिधिहरू रूख कटानी भएको ठाउँको अनुगमन गर्दै सो कार्यको निन्दा गरेका छन् ।
आठवटा रूखबाट निस्केका काठ रु एक लाख २५ हजारमा बिक्री गरेको पनि खुलेको छ । रूख कटानी गरेर वडाध्यक्ष कुशवाहा आजै बिहान ८ बजेको फ्लाइटले काठमाडौं फरार भएको गाउँवासीले बताएका छन् । यसअघि पनि वडाध्यक्ष कुशवाहाले सोही ठाउँका १७ वटा रूख गुपचुपरूपमा कटानी गरेर रातारात बिक्री गरेका थिए । उनलाई सो वडाका सदस्य आसमहम्मद अन्सारीले सघाउँदै आएको पनि आरोप लाग्दै आएको छ ।
घटनाबारेमा छानबीन गरिरहेको इप्रका, प्रसौनीका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीले जानकारी गराए ।