प्रस, परवानीपुर, ९ पुस/
आगामी पुस १९ गते २०८औं वर्षको विजयी महोत्सव पर्सागढी नगरपालिकामा मनाइने भएको छ ।
तत्कालीन ब्रिटिश सेनालाई पराजित गरेको अवसरमा पुस १९ गते पर्सागढीको हरपुरमा रहेको पर्सागढी मन्दिर परिसरमा सो विजय महोत्सव मनाउन लागिएको पत्रकार सम्मेलनमा बताइएको छ । मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बृजमोहन चौधरीले उक्त दिन पर्सागढी र पर्सेली जनताको लागि गौरवको दिन भएकोले विजयी महोत्सव आयोजना गर्न लागिएको बताए । १८७१ पुस १९ गते स्थानीय रञ्जीत चौधरीको कुशल युद्ध नीति र स्थानीयवासीको सक्रियतामा गोर्खाली सेनाले आधुनिक हतियारले सुसज्जित ब्रिटिश सेनामाथि ऐतिहासिक विजय हासिल गरेको थियो । सोही अवसरमा पर्सागढी महोत्सव मनाइँदै आइएको छ । त्यति बेला ब्रिटिश सेनाहरू रातिको समयमा पर्सागढी क्षेत्रमा विश्राम गरिरहेको बेला स्थानीय हातहतियार र राँगा भैंसीको सिङमा मसाल बालेर उक्त युद्ध लडिएको थियो । त्यसमा दर्जनौं ब्रिटिश सेना हताहत भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पर्सागढी नपाका प्रमुख गोकर्ण पाठकले विस्तारवादी सोचले अघि बढ्दै गएको ब्रिटिश सेनालाई वीर गोर्खाली सेना र पर्सागढीवासीको सहयोगमा तत्कालीन अवस्थामा परास्त गरेको र सोही अवसरलाई आफूहरूले उत्सवको रूपमा मनाउन लागेको बताए । उनले पुस १९ गते बिहान १० बजे नपाबाट झाँकीसहितको नेपाली सेना, विद्यार्थी, शिक्ष्Fक, अभिभावक, समाजसेवीलगायतको टोली पदयात्रा गरी पर्सागढी मन्दिरमा पुगी कार्यक्रम शुभारम्भ हुने बताए ।
नेपालका तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको सम्बन्धमा पर्सागढीलाई वीरताको रूपमा स्थानीय रञ्जीत चौधरीलाई संरक्षण गर्न दिइएको थियो । त्यही रञ्जीत चौधरीको सातौं पुस्ताको रूपमा बृजमोहन चौधरीको परिवार चिनिन्छ ।
मन्दिरमा पहिले धेरै जग्गा भए तापनि अहिले जम्मा एक बिघा तीन कट्ठामा मन्दिर परिसर छ भने बाँकी जग्गा स्थानीयहरूले अतिक्रमण गरेका छन् ।