• उमाशङ्कर द्विवेदी

धृतराष्ट्रले सोधे– सञ्जय ? यदि कर्णको शक्ति एउटै वीरलाई मारेर निष्फल हुने खालको थियो भने कर्णले सबैलाई छाडेर अर्जुनमाथि नै प्रहार किन गरेन ? अर्जुन मारिएपछि त समस्त पाण्डव र सृञ्जय आफसेआफ नष्ट भइहाल्थे । यदि भन्छौ कि अर्जुन सूतपुत्रसित लडाइँ गर्न आएनन् भने कर्ण स्वयंले उसलाई खोज्नुपर्दथ्यो । अर्जुनको त यो प्रतिज्ञा छ कि युद्धमा कसैले हाँक दिन्छ भने उसको पाइला कहिले पनि पछि सर्दैन ।

सञ्जयले भने– महाराज, श्रीकृष्णको बुद्धि हामीहरूको भन्दा ठूलो छ । उनलाई थाहा थियो कि कर्ण आफ्नो शक्तिबाट अर्जुनलाई मार्न चाहन्छन् । त्यसैले उनले कर्णको साथ द्वैरथयुद्धमा राक्षसराज घटोत्कचलाई नियुक्त गरे । यस्ता यस्ता अनेकौं उपायबाट उनले अर्जुनको रक्षा गर्दै आइरहेका छन् । विशेषतः कर्णको अमोघ शक्तिबाट उनले नै अर्जुनको रक्षा गरेका छन्, नत्र भने त्यस शक्तिले अवश्य नै अर्जुनको नाश गरिहाल्दथ्यो ।

धृतराष्ट्रले सोधे– सञ्जय, कर्ण पनि त बडो बुद्धिमान् हुन्, उनी स्वयंले नै किन अर्जुनमाथि त्यस शक्तिको प्रहार गरेनन् ? तिमी स्वयम् पनि राम्रो जान्ने मान्छे हौ, तिमीले नै किन कर्णलाई यो कुरा भनिदिएनौ ?

सञ्जयले भने– महाराज, प्रतिदिन रात्रिमा दुर्योधन, शकुनि, म र दुःशासन–यी सबैजनाले कर्णसित प्रार्थना गर्दथे कि भाइ, भोलिको युद्धमा तपाईं सम्पूर्ण सेनालाई छाडेर पहिला अर्जुनलाई नै मारिहाल्नु, अनि त हामीहरू पाण्डव र पाञ्चालहरूमाथि दास सरह शासन गर्नेछौं । यदि यस्तो भएन भने तपाईंले कृष्णलाई नै मारिहाल्नुहोस्, उनी नै पाण्डवहरूको बल हुन् । कृष्ण नै उनीहरूका रक्षक हुन् ।

राजन्, यदि कर्णले कृष्णलाई मारि दिएको भए निस्सन्देह सम्पूर्ण पृथ्वी उनको वशमा भइहाल्दथ्यो । कर्णले पनि कृष्णमाथि शक्ति प्रहार गर्ने विचार गरेका थिए तर युद्धमा भगवान् श्रीकृष्ण निकटमा आइपर्दा कर्णमाथि यस्तो मोह छाउँथ्यो कि यो कुरा बिर्सिन्थ्यो । उताबाट भगवान् श्रीकृष्ण सदैव बडे बडे महारथीहरूलाई युद्ध गर्न पठाउँथे । उनी निरन्तर यो ध्याउन्नमा रहन्थे कि कुन प्रकारले कर्णको शक्तिलाई व्यर्थ पारि दिऊँ । महाराज जसले कर्णबाट अर्जुनको यस प्रकारले रक्षा गर्दथे, उनी आफ्नो रक्षा किन गर्दैनथे ? तीनै लोकमा कोही पनि यस्तो वीर छैन, जसले जनार्दनमाथि विजय पाउन सकोस् ।

घटोत्कच मारिएपछि सात्यकिले पनि भगवान्सित यही प्रश्न गरेका थिए कि कर्णले वैजयन्ती नामक त्यो अमोघ शक्ति अर्जुनमाथि प्रहार गर्ने निश्चय गरेका थिए भने अहिलेसम्म उनले त्यो शक्ति प्रहार किन गरेनन् ?

भगवान् श्रीकृष्णले भने– दुर्योधन, शकुनि, दुःशासन र जयद्रथ–यी सबै मिलेर यही सल्लाह दिने गर्दथे कि कर्ण, तपाईंले अर्जुनबाहेक अन्य कसैमाथि यो शक्ति प्रहार नगर्नुहोला । अर्जुन मारिएपछि पाण्डव र सृञ्जय स्वयम् नै नष्ट भइहाल्नेछन् । युयुधान, कर्णले पनि उनीहरूसित यस्तै गर्ने प्रतिज्ञा गरिसकेका थिए, उनको ह्दयमा सदैव अर्जुनको वध गर्ने विचार रहन्थ्यो पनि, तर मैले नै कर्णलाई मोहमा पारिदिन्थे । यही कारण थियो कि कर्णले अर्जुनमाथि शक्ति प्रहार गरेनन् । सात्यकि, त्यो शक्ति अर्जुनको लागि मृत्युरूप हो–यो सोच्दै मलाई राति निद्रा लाग्दैन्थ्यो । अब त्यो शक्ति घटोत्कचमाथि परेर व्यर्थ भइहाल्यो–यो हेरेर मलाई लाग्छ कि अर्जुन मृत्युको मुखबाट जोगिइसके । म युद्धमा अर्जुनको रक्षा गर्न जति आवश्यक ठान्छु, त्यति पिता, माता, तिमी जस्ता भाइ र आफ्नो प्राणको पनि रक्षा आवश्यक ठान्दिनँ । तीनै लोकमा राज्यको अपेक्षा पनि यदि कुनै दुर्लभ वस्तु भए त्यसलाई पनि म अर्जुनबेगर चाहदिनँ । त्यसैले आज अर्जुन मानौं मरेर बिउँतिएझैं हेरेर आज मलाई बडो आनन्द प्राप्त भइरहेको छ । यही कारण हो कि यस रात्रिकालमा मैले राक्षसलाई नै कर्णसित युद्ध गर्नको लागि पठाएको थिएँ । ऊबाहेक अन्य कसैले पनि कर्णलाई दबाउन सक्दैनथ्यो ।

महाराज, अर्जुनको प्रिय र हित गर्नमा निरन्तर लागिरहने भगवान् श्रीकृष्णले सात्यकिले सोधे पछि यही उत्तर दिएका थिए ।

धृतराष्ट्रले भने– सञ्जय, यसमा कर्ण, दुर्योधन र शकुनिको तथा सबैभन्दा बढी तिम्रो भूल थियो । तिमी सबैजनालाई यो थाहा थियो कि त्यो शक्तिले केवल एउटा वीरलाई मात्र मार्न सक्थ्यो, इन्द्रादि देउता पनि त्यसको आघात सहन गर्न सक्दैनथे र पनि कर्णले त्यसलाई श्रीकृष्ण अथवा अर्जुनमाथि किन प्रहार गरेनन् ? तिमीहरूले युद्धको समयमा कर्णलाई किन सम्झना दिलाएनौ ?

सञ्जयले भने– महाराज, हामीहरूले त प्रतिदिन रात्रिको बेलामा उनलाई यस्तो गर्ने सल्लाह दिन्थ्यौं तर प्रातःकाल हुने बित्तिकै कर्णको तथा अन्य योद्धाहरूको बुद्धि पनि हत हुन पुग्थ्यो । हातमा त्यस्तो भयानक मारक शक्ति छँदाछँदै कर्णले श्रीकृष्ण अथवा अर्जुनलाई किन मार्न सकेनन् ? यसमा म दैवलाई नै प्रधान कारण ठानिरहेकोछु । क्रमशः…।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here