सिराहाका विद्यार्थीलाई म्याद गुज्रिएको खोप लगाइएपछि विवाद भएको छ । जिल्लाका विभिन्न पाँचवटा पालिकास्थित विद्यालयका १२ वर्षदेखि माथि उमेरका विद्यFर्थीलाई यही पुस ५ देखि ७ गतेसम्म फाइजर खोप लगाउने अभियान  थियो । लक्षितमध्ये केही विद्यार्थीले खोप लगाए भने केहीले म्याद गुज्रिएको देखेपछि लगाउन अस्वीकार गरे । खोपको उपभोग्य मिति नोभेम्बर २०२२ अर्थात् १४ मङ्सिर २०७९ सम्म मात्रै थियो । अतः उपभोगयोग्य म्याद गुज्रिएको २० दिन बितिसकेपछि खोप उपयोगमा ल्याउन थालियो । उपभोग्य मिति नहेरी खोप लगाएका बालबालिका र उनीहरूका परिवारजन यतिबेला तनावमा छन् । कतिपयले म्याद गुज्रिएको थाहा पाएर पनि खोप टोलीको विश्वासमा खोप लिएका पनि पाइएको छ । स्वास्थ्य मन्त्रालयमा बसेको विज्ञ टोलीको बैठकले म्याद गुज्रिएको फाइजर खोप अझै तीन महीनासम्म लगाउन सकिने निष्कर्ष निकालेको र सोही बेहोराको पत्र आफूहरूलाई प्राप्त भएपछि खोप लगाउन थालिएको खोप टोलीको स्पष्टोक्ति छ । म्याद गुज्रिएको १० दिनपछि २० हजार डोज फाइजर खोप जनस्वास्थ्य कार्यालय, सिराहाले बुझिलिएर त्यसको १० दिनपछि खोप अभियान शुरू गरेको टोलीले नै स्वीकार गरिसकेको छ ।

हाम्रो मुलुकमा कोभिड–१९ विरुद्ध कोभिशिल्ड, भेरोसेल, मोडर्ना, अस्ट्राजेनिका, फाइजर र जोनसोन एन्ड जोनसोनको खोप चलाइएको छ । उक्त खोपहरूमध्ये भण्डारणको हिसाबले मोडर्ना र फाइजर खोप अरूभन्दा बढी संवेदनशील खोप हो । भण्डारण र प्रयोगमा मापदण्ड पूरा गर्न नसके लेखिएकोभन्दा पहिले नै पनि यसको म्याद गुज्रिन अर्थात् गुणस्तर घटेको हुन सक्छ । अफ्रिकी मुलुक नाइजेरियाले म्याद सकिएका अस्ट्राजेनिका खोपको १० लाख ६० हजार डोज हालै नष्ट ग¥यो । त्यसैगरी, सेनेगलले म्याद सकिएका कोभिड–१९ खोपको चार लाख मात्रा नष्ट गरेको विश्व स्वास्थ्य सङ्गठनको रेकर्डमा उल्लेख छ । उता मलावीले २० हजार मात्रा खोप नष्ट गरेको छ भने गत वर्ष युरोपबाट लगेको १३ लाख खोपको मात्रा म्याद सकिन लागेको भन्दै कङ्गोले फिर्ता पठाएको थियो । हाम्रो छिमेकी मुलुक भारतको खोप उत्पादन कम्पनी ‘सेरम’ले पनि दुई महीनाअघि म्याद गुज्रिन लागेको १० करोड खोपको मात्रा नष्ट गरेको छ । पछिल्लोपटक डब्ल्यूएचओले मापदण्ड पूरा गरी राखिएका फाइजर खोप म्याद गुज्रिएको तीन महिनापछिसम्म प्रयोग गर्न मिल्ने जनाएको हो ।

कोभिड–१९ सँग सम्बन्धित उपचार तथा मुद्दाहरूमा डब्ल्यूएचओसँग धेरै मुलुक तथा विज्ञहरूको मत बाझिंदै आएको छ । हामीले भने स्वीकार गरिदिनुपर्ने हाम्रा केही बाध्यताहरू छन् । डब्ल्यूएचओको जानकारी नेपाल सरकारको लागि ‘बाँदरलाई लिस्नु’ भएको छ । खोपको म्याद सकिउन्जेल प्रयोगमा ल्याउन नसक्नु सरकारको घोर अकर्मण्यता हो । कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाइसकेपछि पनि बुस्टर डोज लगाइन्छ । हाम्रो मुलुकमा भने एक डोज पनि खोप नलगाएका व्यक्तिहरू उल्लेख्य मात्रामा छन् । एक डोज लगाएका वा पूर्ण खोप नलगाइसकेकाहरूको सङ्ख्या एक करोडभन्दा बढी छ । फेरि पनि खोप अभियानलाई तदारूकताका साथ सञ्चालन गरिएको छैन । गत वर्ष पनि म्याद अन्तिम अवस्थामा पुगेको खोप ठूलो मात्रामा प्रयोग गरियो । खोप नष्ट गरौं भने निकम्मापन छताछुल्ल होला, नागरिकको विरोध सहनुपर्ला भन्ने डर सरकारलाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here