प्रस, वीरगंज, ७ पुस/
वीरगंज महानगरपालिकाको ३२ वटै वडामा आगो ताप्ने व्यवस्था मिलाउने तयारी गरिएको छ । बिहीवार महानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले ३२ वटै वडाका स्थानको पहिचान गरी जाडोबाट बच्न आगो ताप्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
सम्बन्धित वडाध्यक्षहरूको समन्वयमा महानगरपालिकाले ती स्थानमा आगो बाल्न दाउरा उपलब्ध गराउने निर्णय गरेको छ । बजार, सडक, चौर तथा खुला आकाशमुनि रात बिताउनेहरूलाई मध्यनजर गरी आगो बाल्ने स्थानको पहिचान गरिएको छ ।
यसैगरी, बैठकले अतिविपन्न, ज्येष्ठ नागरिक, एकल महिलालाई न्यानो कपडा उपलब्ध गराउने निर्णय गरेको छ ।
नगरप्रमुख राजेशमान सिंहले चीसो शुरू भइसकेकोले चोक–चोकमा आगो ताप्ने व्यवस्था मिलाउन आवश्यक स्थानको पहिचान गरेर चाँडै व्यवस्था गर्न वडाध्यक्षहरूलाई निर्देशन दिएका छन् ।
उनले एक/दुई दिनभित्र स्थान पहिचान गरी आगो बाल्ने व्यवस्था गर्न वडाध्यक्षहरूलाई निर्देशन दिएका हुन् । सबै वडाध्यक्ष्Fलाई आआफ्नो वडामा यसको व्यवस्था गर्नुपर्ने उनले बताए । नगरप्रमुख सिंहले वडालाई आवश्यक पर्ने दाउरा महानगरपालिकाले व्यवस्थापन गर्ने जानकारी गराए ।
डिभिजन वन कार्यालय, पर्सासँग आवश्यक दाउरा माग गरेको र आठ चट्टा दाउरा दिइने आश्वासन आएको नगरप्रमुख सिंहले बताए । नगरप्रमुख सिंहले महानगरले विभिन्न स्थानबाट सङ्कलन गरेका छ ट्रक रूखका जराहरू आवश्यक परेका ठाउँमा आगो बाल्न उपलब्ध गराउने पनि बताए ।
बैठकमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले चीसोको कारण आइपर्ने समस्या निराकरणको लागि सबैको सहयोग आवश्यक हुने बताए ।
वडाध्यक्ष जगत साह कानूले विपत् जोखिम नक्शाङ्कन गरेर काम गर्न सकिए शीतलहर तथा अन्य विपत्बाट बच्न सहज हुने बताए ।
अर्का वडाध्यक्ष रामकिशोर सिंह ‘पराग’ले विपन्न वर्गको पहिचान गरेर उनीहरूको घरघरमैं न्यानो कपडा पु¥याउने व्यवस्था मिलाउन सके सदुपयोग हुने बताए ।
यसैगरी, बैठकले छिमेकी देश चीन र भारतमा पुनः कोरोना सङ्क्रमण बढिरहेकाले सो सम्बन्धमा आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सचेतना कार्यक्रमहरू गर्ने निर्णय पनि गरेको महानगरले जनाएको छ ।
आजको बैठकमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, वडाध्यक्षहरू, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।