प्रस, सिराहा, ७ पुस/
सिराहाका विद्यार्थीलाई कोरोनाविरुद्ध म्याद गुज्रिएको फाइजर खोप दिएपछि विवाद भएको छ ।
पुस ५ देखि ७ गतेसम्म सिराहाका विभिन्न पालिकास्थित सामुदायिक विद्यालयका विद्यFर्थीहरूलाई खोप लगाउने कार्यक्रम थियो । १२ वर्ष वा सोभन्दा माथि उमेर समूहका बालबालिकालाई लगाउन ल्याइएको खोपको म्याद गुज्रिसकेको पाइएको हुँदा विद्यार्थीले खोप लगाउन अस्वीकार गरेपछि विवाद भएको हो ।
जिल्लाको सिराहा नगरपालिका, मिर्चैया, कल्याणपुर, कर्जन्हा र लहान नगरपालिका स्थित सामुदायिक विद्यालयका विद्यFर्थीलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन अभियान थालिएको छ । उक्त अभियानका लागि स्वास्थ्य कार्यालय, सिराहाले प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, जनकपुरधामबाट म्याद गुज्रिएका २० हजार डोज खोप ल्याइएको जनाएको छ ।
बालबालिकालाई लगाउन ल्याइएको अमेरिकामा बनेको फाइजर खोपको ¥यापरमा प्रयोग गर्न मिल्ने अन्तिम म्याद नोभेम्बर २०२२ उल्लेख छ । जिल्लाको चन्द्र माध्यमिक विद्यालयका विद्यार्थीले म्याद गुज्रिएको खोपबारे गुनासो गरेका छन् । म्याद गुज्रिएको खोप लगाउँदा स्वास्थ्यमा समस्या हुन सक्ने भनेर केही विद्यार्थीले खोप नलगाएको र विद्यालयका प्रअलाई गुनासो गरेको सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले बताएका छन् । म्याद गुज्रिएको खोप भन्दै विद्यार्थले विरोध गरेको र लगाउन नमानेका कारण चन्द्र माविमा खोप कार्यक्रम रोकिएको छ ।
यस सम्बन्धमा स्वास्थ्य कार्यालय, सिराहाका खोप फोकल पर्सन रामविनय यादव भने खोपको लिखित म्याद गुज्रिएको देखे पनि यसको गुण तथा काम गर्ने क्षमतामा भने म्याद नगुज्रिएको दाबी गर्छन् । म्याद गुज्रिएको खोप लगाउने काम कुनै भूलचूकवश नभएको फोकल पर्सन यादवको भनाइ छ । “कुनै भूलचूक वा धोकाबाट पठाएको खोप होइन । म्याद गुज्रिएको देखेपछि विज्ञ टोलीले स्वास्थ्य मन्त्रालयमा बसेर निर्णय गरी तीन महीना म्याद थप गरेर पठाएको खोप हो ।” अझै तीन महीना उक्त खोप लगाउन मिल्ने ठहर भएकोले सोही आधारमा बालबालिकालाई लगाउने काम भइरहेको उनले बताए । जनकपुरधामस्थित प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट १० दिन पहिले २० हजार डोज फाइजर खोप बुझी लिएर जनस्वास्थ्य कार्यालयले खोप अभियान चलाएको हो । पहिलो चरणको पालिकाहरूमा अभियान सम्पन्न भएपछि मौजुदा खोपको आधारमा अन्य पालिकाहरूमा पनि खोप अभियान चलाइने यादवले बताएका छन् ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले कोभिड–१९ विरुद्धको खोपको ‘सेल्फ लाइफ एक्सटेन्सन’ गरिएको भन्दै २० कात्तिकमा सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको छ ।
फाइजर खोपको उपभोग्य म्याद सकिने मिति नौ महीना उल्लेख भएपनि नौबाट १२ महीना कायम भएको भन्ने बेहोराको पत्र स्वास्थ्य निर्देशक डा विवेककुमार लालले पठाएको जनस्वास्थ्य कार्यालय, सिराहाले जनाएको छ । सोही पत्रको आधारमा खोप दिन थालिएको कार्यालयले जनाएको छ ।
महाशाखाले पठाएको पत्रमा नोभेम्बरमा म्याद सकिएको खोपको तीन महीना म्याद थप भएको र आगामी फेब्रुअरीसम्म कायम भएको उल्लेख छ ।