प्रस, वीरगंज, ३ पुस/

वीरगंजस्थित नेशनल इन्फोटेक कलेजका विद्यार्थीहरूले आइतवार विज्ञान तथा प्रविधिसम्बन्धी प्रदर्शनी गरेका छन् ।

स्नातक तहमा अध्ययनरत ७० जना विद्यार्थीको सहभागितामा नौवटा समूहले नौथरीका विज्ञान प्रदर्शनी गरेका थिए ।

सूचना तथा प्रविधिको क्षेत्रमा कार्यरत संस्था नेपाल ट्रोनिक्स, काठमाडौंका इलेक्ट्रोनिक इन्जिनीयरद्वय सरोज चौधरी र राजु श्रेष्ठले विद्यार्थीहरूलाई सात दिने प्रशिक्षण दिएका थिए । 

प्रदर्शनीमा कलेजका स्नातक संयोजक विजय कुशवाहा, कम्प्युटर एशोसिएशन महासङ्घ, पर्साका अध्यक्ष प्रशान्त कुमार र नीरज श्रीवास्तवले विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए । 

कार्यशालामा सिकेका कुराहरूको आधारमा विद्यार्थीहरूले विभिन्न किसिमका नौवटा परियोजना निर्माण गरेका थिए । अञ्जली यादव नेतृत्वको समूहले स्मार्ट डस्टबिन र परमानन्दप्रसाद दास नेतृत्वको समूहले आरएफआइडी स्मार्ट लक बनाएका थिए ।

यसैगरी, प्रतीक्षाकुमारी साह नेतृत्वको समूहले अटोमेटिक स्ट्रीट लाइट, आदर्श कुशवाहा नेतृत्वको समूहले स्मार्ट एलसिटी निर्माण गरेका थिए भने बलबिन्द्र शर्मा नेतृत्वको समूहले वाटर लेभल डिटेक्टर, श्रीनिवास शर्मा नेतृत्वको समूहले पानी शुद्ध गर्ने परियोजना र आयुष गुप्ता नेतृत्वको समूहले ब्लूतुथबाट चलाउन मिल्ने कारको निर्माण, चन्दन चौधरी नेतृत्वको समूहले स्मार्ट इरिगेशन र सद्धाम हवारी नेतृत्वको समूहले स्मार्ट घर निर्माण गरेको एनआई कलेजका प्रबन्ध निर्देशक इन्जिनीयर मनीष सिंहले बताए । 

विज्ञान र प्रविधिको युगमा विद्यार्थीहरूलाई प्रविधिसँग घुलमिल गराउन कलेजले यस्ता कार्यशाला र कार्यक्रमको आयोजना गर्दै आएको र यसले विद्यार्थीहरूको हौसला बढेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here