बलिराम शुक्ल, बिरूवागुठी, ३ पुस/

पर्सागढी नगरपालिका–४ भेडाहा टोलमा युवाहरूको सक्रियतामा निश्शुल्क ट्युशन कक्षा सञ्चालन गरिएको छ ।

विद्यालयमा पाउने शिक्षाका अतिरिक्त आर्थिक अवस्था कमजोर भएका गरीब, दलित विद्यार्थीहरूलाई लक्षित गरी निश्शुल्क ट्युशन कक्षा सञ्चालन गरिएको युवा रामजी साहले बताए ।

उनले सो वडाका आफूसहित कृष्ण चौधरी, रवि विश्वकर्मा, समीर मियाँ दर्जी, वीरबहादुर महतो, विशाल विश्वकर्माको सक्रियतामा निश्शुल्क ट्युशन कक्षा सञ्चालन गरिएको बताए । आफूहरूले खाजाबापतको रकम जम्मा गरी एकजना शिक्षकलाई मासिक पाँच हजार दिने गरी गरीब, दलित, विद्यार्थीहरूलाई ट्युशनको व्यवस्था मिलाइएको साहले बताए । अन्य बालबालिकाहरूसँगै उनीहरूको पनि शिक्षामा चाहना बढोस् र प्रतिस्पर्धामा खरो उत्रून् भनेर ट्युशन सञ्चालनमा ल्याएको साहले बताए ।

पुस १ गतेदेखि ट्युशन शुरू गरेको र अहिले दैनिक ३८ जना विद्यार्थीले कक्षा लिइरहेको उनले जानकारी दिए । बिहान साढे ६ देखि ८ बजेसम्म ट्युशन सञ्चालन गर्ने गरेको साहले बताए ।

पर्सागढी नपा–४ भेडाहा टोलका अभिभावक मुकेश माझीले निश्शुुल्क ट्युशन सञ्चालन गरेर युवाहरूले सराहनीय कार्य गरेको बताए । उनले आफ्ना दुई छोरी र एक छोरा ट्युशन जाने गरेको बताए । विद्यालयबाट पढेर आएपछि अतिरिक्त पढाइको वातावरण नरहेको र छोराछोरी अध्ययनमा कमजोर भएको अवस्थामा ट्युशन सञ्चालनले केही सुधार आउने उनले विश्वास व्यक्त गरे ।

माझी जस्तै यहाँका अन्य अभिभावकहरू पनि निश्शुल्क ट्युशन सञ्चालन भएपछि खुशी भएका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here