प्रस, जनकपुरधाम, २९ मङ्सिर/

गुठी संस्थान, जनकपुरका अमिन प्रभातचन्द्र पोखरेलमाथि बिहीवार उनकै कार्यकक्षमा हातपात भएको छ। बिहीवार  मध्याह्न १२ बजे नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले हातपात गरेका हुन्।

टेन्डरको विषयलाई लिएर अमिन पोखरेलमाथि हातपात भएको हो। नियमसङ्गतरूपमा आएको टेन्डर दर्ता गर्नुपर्नेमा टेन्डर दर्ता नगर्न दबाब दिंदै भण्डारीले आफूमाथि कुटपिट गरेको अमिन पोखरेलको आरोप छ। धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–३ बस्ने सञ्जयकुमार मण्डलले टेन्डरका लागि बिहीवार दिउँसो १२ बजेअघि नै अमिनलाई फाइल बुझाएका थिए। टेबलमाथि पालोमा राखिएका फाइल दर्ता गर्न लाग्दा भण्डारीले ‘१२ बजिसक्यो बाँकी फाइल दर्ता नगर’ भन्दै आफूमाथि हातपात गरेको पोखरेलको भनाइ छ।

टेन्डर दर्ता गर्न आएका सञ्जय मण्डलले आफू समयमैं गुठी संस्थानमा आएर कर्मचारीको जिम्मामा फाइल छोडिसकेको दाबी गरेका छन्। उनले अमिन पोखरेलले दर्ता गरिसकेको अवस्थामा बीचमैं आएर बखेडा निकाल्दै भण्डारीले दादागिरी गरेको आरोप लगाएका छन्।

भण्डारीले भने आफूले अमिनमाथि हातपात नगरेको जिकिर गरे। दिउँसो १२ बजेसम्म मात्रै दर्ता समय रहेकोमा अमिन पोखरेलले समय कटिसकेपछि पनि दर्ता गरेको हुँदा आफूले विरोध मात्रै गरेको भण्डारीको भनाइ छ। उनले टेन्डर दर्ता गर्न अमिनले जिम्मा लिएकै हो भने समयमा नै किन दर्ता नगरेको भन्दै प्रश्न गरेका छन्। समय बितिसक्दा पनि दर्ता गर्ने हो भने पछि आउने अरूलाई पनि दर्ता गर्न दिनुपर्ने र यसरी परीधि मिचिएपछि झन् झमेला हुने भण्डारीको तर्क छ। जनकपुरधाम उपमहानगरपालिका–८ स्थित सिट नं १३५५–७५ को कित्ता नं ५८ मा रहेको सात कट्ठा जग्गाका लागि न्यूनतम मूल्य प्रतिकट्ठा १० हजार रुपैयाँको दरले गुठी संस्थान, प्रधान कार्यालयले कात्तिक २९ गते बोलपत्र आह्वान गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here