विश्वकप फूटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन्। गएराति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासित उपाधि भिडन्त पक्का गरेको हो।
कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो। फ्रान्सले खेलको पहिलो हाफमा एक गोल ग–यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेको हो।
फ्रान्सका लागि थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले गोल गरेका थिए। हर्नान्डेजले खेलको पाँचFैं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बलको सदुपयोग गर्दै गोल गरेका थिए।
त्यस्तै, खेलको ७९औं मिनेटमा सब्सिच्युड खेलाडीको रूपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जीत दिलाए। उनले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरेका थिए। उनी ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए।
यसअघि फ्रान्सले क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। त्यस्तै, पहिलोपटक सेमिफाइनलमा पुगेको अफ्रिकी राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलअन्तरले हराएको थियो। यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएशियालाई ३–० गोलअन्तरले हराएर फाइनल यात्रा तय गरेको हो। फाइनल खेल आइतवार हुनेछ।