पटना, २८ मङ्सिर/एपी

बिहार राज्यको सारण जिल्लाका तीनवटा गाउँमा विषाक्त मदिरासेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ।

राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भएपनि राज्य सरकारको अनुमति नलिई स्थानीय तहमा उत्पादन एवं बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्।

महिला समूहहरूले मदिरा उत्पादन तथा बिक्री वितरणविरुद्ध अभियान चलाएपछि बिहार राज्यमा सन् २०१६ मा मदिराको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको थियो। प्रहरीका अनुसार अस्पताल भर्ना भएका २० जनामध्ये धेरैले आँखाको ज्योति गुमाएका छन्। गैरकानूनीरूपमा मदिरा बिक्री गरेको आरोपमा तीनजनालाई नियन्त्रणमा लिइएको छ। सारण जिल्ला राज्यको राजधानी पटनाबाट करीब ६० किलोमिटर उत्तरमा अवस्थित छ।

अवैधरूपमा बनाइएको मदिरासेवनबाट हुने मृत्युलाई भारतमा सामान्य  मानिन्छ।  अवैधरूपमा उत्पादन हुने मदिरालाई कडा बनाउन कीटनाशकलगायत रसायन प्रयोग गरिन्छ। यसरी उत्पादित मादक पदार्थ कम मूल्यमा बिक्री हुने गरेको छ। कर छलेर अवैध तरीकाले उत्पादन गर्ने यो व्यवसाय लाभदायक उद्योग भएको छ।

यो वर्षको प्रारम्भमा विषाक्त मदिरा पिउँदा पश्चिम भारतको गुजरात राज्यमा कम्तीमा २८ जनाको मृत्यु भएको थियो भने ६० जना बिरामी भएका थिए। गुजरातमा पनि मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ। सन् २०२० मा भारतको उत्तरी पञ्जाब राज्यमा पनि विषाक्त मदिरा पिएर १२० जनाले ज्यान गुमाएका थिए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here