प्रस, सेढवा, २४ मङ्सिर/
पर्साको ठोरी गाउँपालिका वडा नं ५ सुवर्णपुरमा सञ्चालित सुनाखरी होम स्टेमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको छ । कोभिडका कारण भएको लकडाउनमा पर्यटकहरू पातलिंदै गएका थिए । तर केही महीनादेखि यस होम स्टेमा आउने पाहुनाहरूको सङ्ख्यामा वृद्धि भएको छ ।
सुनाखरी होम स्टे व्यवस्थापन समितिका अध्यक्ष शम्भुराम पौडेलले विगतमा आन्तरिक पर्यटकहरू मात्र आउने गरेको बताए । तर अहिले अमेरिका, अस्ट्रेलिया, क्यानडा, पश्चिमी मुलुकका पाहुनाहरूसमेत आउन थालेको अध्यक्ष पौडेलले बताए । अहिले महीनामा १०० देखि १२० जना आन्तरिक पर्यटक आउने गरेका छन् भने ३० देखि ३५ जना बाह्य पर्यटक आउने गरेका छन् । यहाँ ६० जना पर्यटकको बास बस्ने १५ वटा होम स्टेको व्यवस्था रहेको अध्यक्ष पौडेलले बताए ।
अमेरिकाको क्यालिफोर्निया राज्यका सान्टा मोनिका निवासी स्टेफनी थोर्नटनसँग होम स्टेमा भेट हँुदा उनले होम स्टेको तीन दिनको बसाइमा निकै रमाइलो भएको बताइन् । यहाँको शान्त वातावरण, हराभरा प्राकृतिक जङ्गल, स्थानीय खानाको परिकार तथा राम्रा स्थानीय बासिन्दाको बीचमा बस्न पाउँदा निकै खुशी भएको स्टेफनीले बताइन् । बसाइका क्रममा पर्सा राष्ट्रिय निकुञ्जका जङ्गल, निकुञ्जमा रहेका दुधेश्वर महादेव मन्दिर तथा खेतीबारी र विभिन्न भ्यू प्वाइन्टको अवलोकन गरेको स्टेफनीले बताइन् । स्टेफनी नेपाली पुरुषसँग विवाह गरी विगत तीन महीनादेखि काठमाडौं बस्दै आएकी छन् । उनी फेरि आफ्ना साथीहरूसँग यस क्षेत्रको भ्रमण गर्न आउने बताइन् ।
त्यस्तै, पर्साका एनजिओकर्मी दामोदर यादवले होम स्टेको बासमा कोलाहलमुक्त वातावरणमा रमाउन पाउँदा निकै खुशी लागेको बताए । उनले आफ्नै घर जस्तो आफैंले पकाउन तथा खान पाउँदा एकदमै रमाइलो हुने गरेको बताए । होम स्टेको सञ्चालनले स्वदेशी तथा विदेशी पर्यटकहरूको आवागमन भइरहने हुँदा समुदायको विकासमा निकै टेवा पुग्ने यादवको भनाइ छ । यसको संरक्षण तथा प्रवर्धन गर्न हामी सबैको नैतिक दायित्व भएको यादवले बताए ।
सुनाखरी होम स्टे व्यवस्थापन समितिका सचिव बलराम कोर्मोचाका अनुसार होम स्टेमा पाहुनाहरूका लागि खाना तथा नास्ताका लागि आवश्यक खाद्यान्न स्वस्थकर हुने गरेको बताए । होम स्टेमा बस्न आउने पाहुनाहरूका लागि खाद्यान्नलाई विशेषरूपमा बनाइएको र सोही अनुसार कार्यान्वयन भएको सचिव कोर्मोचाले बताए । होम स्टेमा रु पाँच सय प्रतिकोठा भाडा रहेको र खाना पनि निकै सस्तो रहेको छ ।