प्रस, वीरगंज, २२ मङ्सिर/

रोटरी क्लब अफ वीरगंजले कृत्रिम हात स्थापना केन्द्र सञ्चालनमा ल्याएको छ । नगरप्रमुख राजेशमान सिंहले बिहीवार एक कार्यक्रमबीच कृत्रिम हात प्रदान गर्ने केन्द्रको उद्घाटन गरे । उनले रोटरीले विभिन्न चरणमा शिविरको आयोजना गरी कृत्रिम हात निश्शुल्क उपलब्ध गराउँदै आएकोमा आजदेखि केन्द्र सञ्चालन गरी नियमित कृत्रिम हात निश्शुल्क प्रदान गर्ने अभियानको थालनी गरेकोमा सराहना गरे ।

उनले रोटरीको यो अभियानमा महानगरपालिकाले पनि हातेमालो गर्ने आश्वासन दिए ।

रोटरी क्लब अफ वीरगंजका अध्यक्ष पियुष गुप्ताले निश्शुल्करूपमा यस अघिदेखि कृत्रिम हात उपलब्ध गराउँदै आएको बताउँदै अबदेखि केन्द्र स्थापना गरी सेवा शुरू गरेको बताए । उनले हातखुट्टा नभएकै कारण रोजगारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले रोटरीले वीरगंजमा निश्शुल्क कृत्रिम हात केन्द्र स्थापना गरेको बताए । उनले कृत्रिम हात आवश्यक पर्ने जोकोहीले वीरगंज केन्द्रमा आएर निश्शुल्क सेवा लिन सक्ने बताए । अध्यक्ष गुप्ताले हालसम्म रोटरी क्लब अफ वीरगंजको आयोजनामा २५० जनालाई कृत्रिम खुट्टा प्रदान गरिएको जानकारी गराए ।

कार्यक्रममा दुईजना अपाङ्गले आफ्नो अनुभव सुनाए भने एकजनालाई आज कृत्रिम हात लगाइएको थियो । कार्यक्रममा वडाध्यक्ष जगतसाह कानू, वीरगंजस्थित भारतीय महावाणिज्यदूत नितिश कुमार, नेपाल चिकित्सक सङ्घ पर्साका अध्यक्ष डा मनोज गुप्ता, तराई यातायात व्यवसायी सङ्घका अध्यक्ष सोहैल अख्तर, वुमेन क्रिएशनकी हेमा अग्रवाललगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण राजेन्द्र चौधरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here