प्रस, वीरगंज, २२ मङ्सिर/
वीरगंज महानगरपालिका कार्यालय शिक्षा महाशाखाले बिहीवार महानगरका संस्थागत विद्यालयहरूको वर्गीकरण गरेको छ ।
शिक्षा महाशाखाले मङ्सिर १९ र २० गतेको बैठकले गरेको निर्णय भनेर आज सार्वजनिक गरेको संस्थागत विद्यालयहरूको वर्गीकरणमा क वर्गमा छवटा, २७ वटा ग वर्गमा बाँकी विद्यालयहरूलाई घ वर्गमा राखिएको छ । यसैगरी विद्यालयहरूले एक महीना बराबरको शुल्कभन्दा बढी धरौटी लिन नपाउने, दुई महीना बराबरको शुल्कभन्दा वार्षिक शुल्क लिन नपाउने, दूरीको आधारमा सवारी भाडा लिनुपर्ने, घोषित शुल्कलाई अभिभावकबाट पारित गराउनुपर्ने र यो निर्णय आगामी जेठ १ गतेदेखि समायोजन हुने बताइएको छ ।
आज गरिएको विद्यालय वर्गीकरण र शुल्क निर्धारणको अभिभावक सङ्घर्ष समिति पर्साले विरोध गरेको छ । समितिले आज विज्ञप्ति जारी गर्दै बिदाको दिन पारेर अनियमित तरीकाबाट वर्गीकरण गरिएको आरोप लगाएको छ ।
समितिले शिक्षा नियमावली अनुसार वर्गीकरण तथा शुल्क निर्धारण समिति निर्माण गर्दा अभिभावक सङ्घका दुईजना सदस्य राख्नुपर्नेमा वीरगंज महानगरपालिकाको शिक्षा महाशाखाले अभिभावक सङ्घ र सङ्घर्ष समितिका सदस्यहरूलाई नराखेर आफूखुशी वर्गीकरण र शुल्क निर्धारण गरेको आरोप लगाएको छ ।
समितिले जारी गरेको विज्ञप्तिमा महानगरपालिका र सङ्घर्ष समितिबीच असार ३१ गतेको वार्तामा वर्गीकरण र शुल्क निर्धारण गरिएपछि समस्या समाधान गर्ने सहमति विपरीत आज भएको निर्णयले समस्या बढाएको उल्लेख छ ।