राजनीतिक दलभित्र धेरैवटा गुट–उपगुटहरू हुन्छन् । तलदेखि माथिसम्म दुई पक्ष देखिन्छ भने त्यो गुट हो ।  गुटहरूभित्र पनि उपल्लो नेताको निकट बन्न चाहनेहरूको उपगुट हुन्छ । नीतिगत वा सैद्धान्तिक पक्षबाट देखिएका फरक मत तथा अनुशासित गुटहरूले दललाई सचेत, परिस्कृत गर्दै माझ्ने गर्छ । यसबाट नयाँ सिर्जना र नेतृत्व विकास सहज हुन सक्छ । नीतिगत वा सैद्धातिकरूपमैं सिर्जित गुट भएपनि त्यो अराजक बनेमा दल सङ्कटमा पर्छ । यसैगरी, उपगुटहरू अराजक बन्यो भने गुट सङ्कटमा पर्छ । मुलुकका ठूला राजनीतिक दलहरूमध्ये नेपाली काङ्ग्रेसमा गुटगत राजनीति छ । गुटलाई सम्हाल्दासम्हाल्दै नेपाली काङ्ग्रेस केन्द्रीय तहका नेताहरूले महŒवपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा आफ्नो परिपक्व दृष्टिकोण बनाउन सकेका छैनन् । अर्का ठुला दल नेकपा एमालेमा भने गुटभन्दा पनि उपगुटको समस्या छ । दशौं महाधिवेशनअघिसम्म ओली र रावल पक्षीय दुई गुट देखिएकामा महाधिवेशनपछि कमजोर रावल गुट मङ्सिर ४ को चुनावपछि अस्तित्व नै समाप्त भएको अवस्थामा छ । अध्यक्ष केपी ओली सर्वेसर्वा रहेको एमालेमा सोही पक्षका उपगुटहरू भने निकै सल्बलाएका छन् ।

गुट वा उपगुट, एकले अर्कालाई सिध्याउने विभिन्न  चरणहरू छन् । ती चरणहरूमा अधिवेशन तथा महाधिवेशन पहिलो हो । यसमा एकले अर्का पक्षलाई सकभर सङ्गठनको जिम्मेवारीमा आउनबाट रोक्न खोज्छन् । यो कुरा चुनावको क्रममा पनि लागू हुन्छ । गुट वा उपगुटहरू एक पक्षले अर्को पक्षलाई उम्मेदवार बनाउन चाहँदैनन् । कथं उम्मेदवारी पाइहाले पनि विपरीत पक्ष आफ्नै दलको उम्मेदवारको विरुद्ध चाल चलिरहेका हुन्छन् । चुनावमा हारजीत हुन्छ नै । केही ठाउँमा हार र केही ठाउँमा जीत अवश्यम्भावी छ । त्यही मौकामा हारको दोष जति परस्पर विरोधी गुट तथा उपगुटको टाउकोमा घोप्ट्याएर आफू चोखिने चाल गुट तथा उपगुटहरूले चलेकाका हुन्छन् । त्यसै त चुनाव हारेको सङ्गठन, त्यसमा पनि यस किसिमको लफडाले सम्बन्धित राजनीतिक दल कमजोर बन्न पुग्छ  । नेकपा एमाले पर्साको भाँडभैलो हेर्दा एमाले पर्सा यही चरणमा पुगेछ भन्न सकिन्छ ।

एमाले पर्सामा गुट छैन उपगुट छ । यहाँका दुईवटा उपगुट ओली गुटकै हो । एकले अर्कालाई सिध्याएर आफू मात्रै रजगज गर्ने लालसाले ओली गुटभित्रकै दुई उपगुटबीच अराजकता बढ्दो छ । यसको नमूना पर्सा जिल्ला अधिवेशनमा बाहिर आयो । त्यसैगरी, प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा टिकटको लागि सिफारिश गर्दा दुई गुटबीचको द्वन्द्व निकै चर्किएको थियो । एकले अर्को गुटलाई सिध्याउन विभिन्न खेलहरू भए । दल प्रवेश गर्ने/गराउने, स्वतन्त्र उठ्ने र अन्तर्घात गर्नेलगायतका खेलहरू यहाँ भए । एउटा गुटले अर्को दलका कुनै नेता, कार्यकर्तालाई एमालेमा प्रवेश गराएमा विपरीत गुटको सदस्य सङ्ख्या बढ्ने ठानेर अर्को गुटले पनि तुरुन्त दल प्रवेश कार्यक्रम राख्ने गरेको पाइयो । यसो हुँदा बाहिरबाट आउनेहरू बीचमा पनि द्वन्द्व बीजारोपण भयो । अन्तर्घात हुँदा चुनाव हार्नु त निश्चित छ । अब कारबाईको चरण शुरू भएको छ । एक गुटले अर्को गुटको कमजोरी खोज्दै दुवैतर्फका केहीविरुद्ध कारबाईको घोषणा  भयो । अब आफ्नोलाई जोगाएर अर्कोलाई फसाउने खेल दुवैतर्फबाट शुरू हुन्छ । शुरू पो भयो, शृङ्खला लामै चल्न सक्छ । जो होस्, दोषीलाई कारबाई र निर्दोषलाई सफाइमा एकमत हुन सके मात्रै सङ्गठन सही बाटोमा आउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here