प्रस, वीरगंज, १७ मङ्सिर/
मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उनको शव प्रहरीले फेला पारेको हो ।
भट्टराई नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको शनिवार हुने ११औं वार्षिक साधारणसभामा सहभागी हुन आएको र शुक्रवार बेलुका उक्त रिसोर्टमा बसेका थिए ।
सप्तरी घर भएका ६७ वर्षीय भट्टराई मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्ष हुन् ।
शुक्रवार राति खाना खाएर सुतेका भट्टराई शनिवार बिहान अबेर ढोका नखोलेपछि झ्यालबाट हेर्दा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
भट्टराईको मृत्यु रिसोर्टकै कोठामैं भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताए । उनको कोठाबाट रक्तचाप र मधुमेह रोगका औषधिसमेत फेला परेको प्रनाउ श्रेष्ठले बताए ।
शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको इप्रका, लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले बताए ।