काठमाडौं, १५ मङ्सिर/रासस

अर्जेन्टिना र पोल्यान्ड कतारमा जारी विश्वकप फूटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् ।

गएराति भएको खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘सी’को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २–० गोलअन्तरले हराएको हो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक/एक गोल गरे । खेलको ३९औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टी गोल गर्न चुकेका थिए । तर खेलको ४६औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई शुरूआती अग्रता दिलाए ।

त्यसपछि खेलको ६७औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को जीत दिलाए । जीतसँगै अर्जेन्टिना समूह ‘सी’को विजेता बन्न सफल भयो । अर्जेन्टिनाले तीन खेलमा दुई जीत र एक हारसहित छ अङ्क जोड्यो । पोल्यान्ड पनि समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो ।

त्यसैगरी, गएराति कतारको लुसाइल रङ्गशालामा सम्पन्न खेलमा मेक्सिकोले साउदी अरबलाई २–१ गोलअन्तरले पराजित ग¥यो । खेलको ४७औं मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई शुरूआती अग्रता दिलाए ।

त्यस्तै, खेलको ५२औं मिनेटमा लुइस चाभेजले गोल गर्दै मेक्सिकोलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा साउदी अरबका सलिम अल्दावसरीले सान्त्वना गोल गरे ।

समूह ‘सी’बाट साउदी अरब र मेक्सिको समूह चरणबाट बाहिरिएका छन् । चार अङ्क जोडेको मेक्सिको तेस्रो स्थानमा रह्यो भने तीन अङ्क जोडेको साउदी अरबले अन्तिम स्थानमा रहँदै विश्वकपको यात्रा टुङ्ग्यायो ।

फ्रान्स र अस्ट्रेलिया नकआउट चरणमा

कतारमा जारी फिफा विश्वकप फूटबल, २०२२ अन्तर्गत समूह ‘डी’बाट साबिक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै, सोही समूहबाट अस्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

कतारको एजुकेशन सिटी रङ्गशालामा गएराति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिशियासँग १–० गोलअन्तरले पराजित भएपनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफमा ट्युनिशियाले अग्रता लियो । खेलको ५८औं मिनेटमा ट्युनिशियाका कप्तान वाह्बी खाज्रीले निर्णायक गोल गरे । जीतका बावजूद ट्युनिशिया नकआउट चरणमा पुग्न सकेन ।

अस्ट्रेलिया नकआउट चरणमा

यसैगरी, कतारको अल जुनब रङ्गशालामा गएराति भएको अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई १–० गोलअन्तरले हरायो । अस्ट्रेलियाका म्याथु लेकीले खेलको ६१औं मिनेटमा निर्णायक गोल
गरे ।

फ्रान्स र अस्ट्रेलिया दुवैले तीन खेलमा दुई जीत र एक हारसहित छ अङ्क जोडेका छन् । गोलअन्तरमा अघि रहेर फ्रान्स समूह विजेता तथा अस्ट्रेलिया उपविजेता बन्यो । यसैगरी, ट्युनिशिया तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रह्यो । डेनमार्क एक अङ्कसहित पुछारमा रह्यो । दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here