नितेश कर्ण, वीरगंज, १४ मङ्सिर/

पर्सा जिल्लामा यस वर्ष धानखेती गत वर्षको तुलनामा ०.३ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्र, पर्साका बाली अधिकृत सुरेशप्रसाद चौरसियाले बताएका छन् । उनले आव २०७८/७९ मा चैते धान तीन हजार ५५० हेक्टर जमीनमा लगाइएकामा १८ हजार ८१५ मेट्रिक टन उत्पादन भएको बताए ।

यसैगरी, भदैया धान आठ हजार ५६० हेक्टरमा लगाइएकामा ४६ हजार २५४ मेटन उत्पादन भएको तथा अगहनी धान ३५ हजार २० हेक्टरमा लगाइएकामा एक लाख ६८ हजार ९६ मेटन उत्पादन भएको बताए । सो अनुपातमा यस वर्ष ०.३ प्रतिशतले घटेको बाली अधिकृत चौरसियाले बताए ।

उनले यस वर्ष चैते धान तीन हजार ५५० हेक्टरमा लगाइएकामा उत्पादन भने १९ हजार ५२५ मेटन भएको बताए । गत वर्षभन्दा चैते धान यस वर्ष बढी उब्जनी भएको उनले जानकारी गराए ।

यसैगरी, भदैया धान आठ हजार ५६० हेक्टरमा लगाइएकामा ४४ हजार ५१२ मेटन उत्पादन भएको र यो धानको उत्पादनमा गत वर्षको तुलनामा ०.३ प्रतिशतले कमी आएको उनले बताए ।

यसैगरी, अगहनी धान ३५ हजार २० हेक्टरमा खेती भएकामा एक लाख ५७ हजार ५९० मेटन उत्पादन भएको बताए । यो धान गत वर्षको तुलनामा ०.३ प्रतिशतले घटेको बाली अधिकृत चौरसियाले बताए ।

भदैया र अगहनी धानखेतीको उत्पादनमा कमी आउनुका कारण बीउ रोप्ने बेलामा सिंचाइ सुविधामा कमी, समयमा वर्षा नभएको र मल उपलब्ध नभएको बताए । उनले यस वर्ष यी दुवै धानको खेतीमा गत वर्षको तुलनामा निकै कमी आउने आशा गरिए पनि अन्तिम समयमा सिंचाइ गर्ने बेलामा वर्षा भएको कारण थोरै मात्र उत्पादन घटेको बताए । बाली अधिकृत चौरसियाले अहिले गहुँबाली २५ प्रतिशत रोपाइँ भएको र रोपाइँको क्रम जारी रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here