प्रस, वीरगंज, १४ मङ्सिर/

कृषि सामग्री कम्पनी लि., वीरगंजका सूचना अधिकृत आलोक कुमारले कम्पनीको प्रादेशिक कार्यालय, वीरगंजमा ६०५.१५० मेट्रिक टन युरिया र ७९८.४०० मेटन डिएपी मल मौज्दात रहेको बताएका छन् ।

उनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका कारण सहकारीहरूले कम्पनीमा मल माग नगरेको बताए । यता, किसानहरूले भने गहुँखेतीको लागि पनि मल नपाएको गुनासो गरेका छन् । सूचना अधिकारी आलोक कुमारले कम्पनीबाट मल लिएर जाने कृषि सहकारीहरूले स्थानीय तहसँग सहकार्य नगर्दा मलको समस्या देखिएको बताए । बहुदरमाई नगरपालिका–४ का किसान जोगिन्द्र यादवले गहुँखेतीका लागि मल नपाएको बताए । उनले यसअघि धानखेतीको बेलामा पनि मल नपाएर धान उत्पादन महँगो भएको र अहिले सस्तोमा बिक्री गर्नुपरेको गुनासो गरेका छन् ।

सरकारले निर्धारण गरेको मूल्यमा धान बिक्री गर्दा लागत पनि नउठ्ने उनले बताए । यथावस्थामा कृषि कर्म गर्न अप्ठ्यारो पर्ने उनको भनाइ छ । धानखेतीमा सिंचाइ, बीउबिजन, मजदूरीसमेतको खर्च जोड्दा उत्पादन लागत बढ्न गएको तर सरकारले प्रतिक्विन्टल रु दुई हजार ४०० धानको मूल्य निर्धारण गरेकोमा किसानहरूलाई मर्का परेको उनले बताए । उनले सरकारले तोकेको मूल्यमा धान बिक्री गर्दा उत्पादन लागत नै नउठेपछि नाफाको त कल्पना पनि गर्न नसकिने बताए । अर्का किसान पर्सागढी नगरपालिका–७ का गोपाल साहले अहिले गहुँखेतीको लागि डिएपी मल आवश्यक भएको तर किसानहरूलाई सहज उपलब्ध नहुँदा मर्का परेको बताए । उनले अहिले बीउ र मलको अभाव झेल्नुपरिरहेकाले गहुँ उत्पादनमा असर पुग्न सक्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here