गहुँबाली मात्र होइन, कुनै पनि बाली लगाउने बेला किसानले बिचल्ली बेहोर्नुपरिरहेको छ । किसानको बिचल्ली फसल लगाउनुपूर्वदेखि फसल भिœयाइसकेपछि पनि समाप्त हुँदैन । कुनै पनि फसल लगाउनका लागि पहिलो कुरा जमीन हो । खेती गर्ने अधिकांश किसानसँग जमीन छैन । भएको जमीन पनि सरकारको सस्तो लोकप्रियता पाउने लोभमा टुक्राटुक्रा भएको छ । यो टुक्रा जमीनले बढीमा निर्वाहमुखी किसानलाई सास धान्न सजिलो हुनेबाहेक अरू केही हुँदैन । त्यसपछि सिंचाइको कुरा आउँछ, देशमा शुरू प्रजातन्त्रदेखि सिंचाइ योजनाहरूको कार्यान्वयन हेर्ने हो भने सरकारले गफबाहेक केही गरेको देखिएको छैन, विदेशी सहयोगमा बनेका केही सिंचाइ योजनाबाहेक । त्यो पनि पूर्ण क्षमतामा पानी दिन सक्षम छैन र थोरै दिने पानी पनि ‘का वर्षा जब कृषि सुखाने’ खालको हुन्छ । अनि बीउ चाहियो, असल बीउ, धेरै उब्जनी हुने, धेरै उब्जनीका लागि मल चाहियोस प्राङ्गारिक वा कम्पोस्ट मल त सरकारी नीतिका कारण अप्राप्य भइसक्यो, रासायनिक मलमा कमिशन खोज्दाखोज्दै समय भिडकिसकेको हुन्छ ।

यति हण्डर बेहोरिसकेपछि फसल तयार भयो भने त्यसलाई काट्न र भिœयाउन कृषि जनशक्तिको अभाव, हुरी–बतास र आगलागीको भय तथा पानी असिनाको आशङ्काले किसानको आधा सास भित्र र आधा बाहिर हुन्छ । जब फसल भित्रिन्छ, यसले किसानको आफ्नै परिवारको निर्वाह हुन उकुसमुकुस हुन्छस त्यसैबाट नुन, तेल, लुगाफाटो, चाडपर्व, शिक्षा, औषधि कसरी धान्ने ? किनकि खेत जोत्ने सबैसँग आफ्नो जग्गा नहुँदा जग्गाधनीलाई पनि तिर्नैपर्छ । यसरी नेपाली किसानको योगदान आफूबाहेक अरूका लागि देखिएको छैन । यसरी देशलाई योगदान पु¥याउन नसकेको किसानप्रति सरकार, त्यो पनि सत्ताका लागि जस्तो पनि कलङ्कित काम गर्न पछि नहट्नेले के नै गर्ला र ! आफ्नो बलबूतामा किसानले यस विपरीत परिस्थितिमा पनि काम त गरि नै रहन्छ । नगदे बालीका रूपमा उखु लगाउँछ, अर्बौंपति चिनी मिलहरूलाई उखु बेच्छ, तर समयमा पैसा पाउँदैन, सङ्घर्ष गर्छ, जुलूस निकाल्छ, धर्ना बस्छ । मकै किसानले उचित बीउ नपाउँदा  लहलह हुर्केको बोटमा घोघा नै लाग्दैन, लागे पनि दाना पर्दैन । किसानले केरा खेती गर्छ, हावाहुरीले सत्यानाश पार्छ, हेर्ने कोही छैन । फसल बीमा छैन, भए पनि पाइने थोरै क्षतिपूर्ति पाउन्जेल किसानको सास गइसकेको हुन्छ ।

किसान त कुनै पनि देशको जीवनदाता हो । छिमेकी भारतमा कस्तै पनि योगदान दिनेको नाम त्यति चलेको सुनिएको छैन, एकसेएक वैज्ञानिक, नामूद डाक्टर, तेजस्वी राजनीतिज्ञ, कालजीवी कलाकार, साहित्यकारबारे कुनै नारा बनेको देखिंदैन । तर ‘जय जवान, जय किसान’ भनेर देशको रक्षा गर्ने सैनिक र देशको पेट भर्ने किसानले ठूलो सम्मान र आदर पाएको हुन्छ । किसानलाई व्यक्तिको रूपमा कसैले नचिने पनि उसको कार्यको ठूलो सम्मान छ । भारत मात्र होइन, विश्वको कुनै पनि देशमा, नेपालजस्तोबाहेक किसानले सुप्त आदर पाउँछ, मानिसको अचेतनमा किसानप्रति कृतज्ञताको भाव हुन्छ । नेपालमा पनि किसानले त्यही काम गर्छ, तर उचित सहयोग र दृष्टिकोणको अभावमा आफ्नो सन्तानलाई हलो–कोदालो चलाउन विदेश पठाउँछ, त्यहाँबाट आएको पैसाले सरकारको इज्जत धान्न मदत पु¥याउँछ, अन्न खरीद गर्छ, सरकारलाई राजस्व बुझाउँछ । गर्छ मात्र, पाउने बेला केही पाउँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here