प्रस, वीरगंज, १० मङ्सिर/
बाराको मतगणना पनि सकिएको छ । शनिवार प्रतिनिधिसभा सदस्यको एक क्षेत्र र प्रदेशसभा सदस्यका दुई क्षेत्रको मतगणना सकिएपछि बारामा प्रत्यक्षतर्फको मतगणना पनि सकिएको छ भने समानुपातिकतर्फको भने जारी नै छ ।
आज भएको मतपरिणाम अनुसार बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा जसपाका रामसहाय यादव दोस्रोपटक निर्वाचित भएका छन् । उनले १३ हजार ८२२ मत पाएर जिते भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा १३ हजार ४२८ मत पाएर पराजित भए । यसैगरी, क्षेत्र नं १ (१)को प्रदेशसभा सदस्यमा एमालेका त्रिलोकी चौधरी १६ हजार ७१८ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका रमेश दङ्गालले १४ हजार २७० मत पाएर पराजित भए ।
यसैगरी, क्षेत्र नं ३ (२)को प्रदेशसभा सदस्यमा एमालेका महमद समीर आठ हजार ३२३ मतले विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका पारस साह आठ हजार २५५ मत पाएर पराजित भए ।
यसअघि बाराको प्रतिनिधिसभा सदस्यमा क्षेत्र नं १ बाट एमालेका अच्युत मैनाली, क्षेत्र नं २ बाट एमालेकी ज्वालाकुमारी साह र क्षेत्र नं ४ बाट नेकपा एकीकृत समाजवादी पार्टीका कृष्ण श्रेष्ठ विजयी भएका थिए ।
त्यस्तै, प्रदेशसभा सदस्यमा क्षेत्र नं १ (२)बाट जसपाका सरोज यादव, २ (१)बाट स्वतन्त्र उम्मेदवार शारदाशङ्कर कलवार, २ (२)बाट जसपाका बच्चाराउत अहिर, ३ (१)बाट एमालेका रवीन्द्रदास श्रेष्ठ, ४ (१) बाट एमालेका देवनारायण चौधरी, ४ (२)बाट लोसपाका जीतेन्द्रकुमार सोनार विजयी भएका छन् । बारामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य गरी एमालेले छ सिट, जसपाले तीन सिट, लोसपा/नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्रले १/१ सिट जिते भने काङ्ग्रेस रित्तो भयो ।