ब्राजिलिया, १० मङ्सिर/एएनआई

ब्रजीलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रवार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सिएनएनले ब्रजीलका अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

ब्रजीलमा विद्यालयमा गोली चलाउने बन्दुकधारीले सेमीअटोमेटिक हतियार बोकेको क्यामेरा फुटेजमा देखिएको छ । अनुहार छोपेको सो व्यक्तिले सेनाको पोशाक लगाएको देखिएको छ ।

यद्यपि गोली प्रहार गर्ने व्यक्ति १६ वर्षीय भएको आशङ्का गरिएको छ । सिएनएनका अनुसार उक्त राज्यको राजधानी भिक्टोरियाबाट ५० माइल उत्तरमा रहेको सानो शहर अराक्रुजमा सो आक्रमण भएको थियो ।

एस्पिरिटो सान्तोका गभर्नर रेनाटो कासाग्रान्डेले शुक्रवार ट्वीट गर्दै, “सुरक्षा टोलीले आक्रमणकारीलाई पक्राउ गरेको छ, जसले कायरतापूर्वक अराक्रुजका दुई विद्यालयमा आक्रमण गरेको थियो । मैले अपुरणीय क्षतिको लागि शोकको रूपमा तीन दिनको आधिकारिक शोक घोषणा गरेको छु । हामी  घटनाको कारणबारे अनुसन्धान जारी राख्नेछौं र चाँडै नै निष्कर्षमा पुग्नेछौं ।”

गभर्नरका अनुसार, “प्रिमो बिट्टी स्कूल र प्रिया डे कोक्वेरल शैक्षिक केन्द्रमा आक्रमण भएको थियो ।”

ब्रजीलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सो घटनाबारे ट्वीट गर्दै अराक्रुज विद्यालयमा भएको आक्रमणले आफू दुःखी भएको र पीडितलाई क्षतिपूर्ति दिलाउने बताए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here