प्रस, वीरगंज, ९ मङसिर/
रौतहट जिल्लामा मतगणना सकिएको छ र चार प्रतिनिधि सभा र आठ प्रदेशसभा सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको छ भने बारा जिल्लामा एकप्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यको मतगणना अझै जारी छ ।
पर्सामा बिहीवार प्रत्यक्षतर्फको मतगणना सकिएको थियो भने समानुपातिकतर्फको मतगणना आज शुक्रवार सकिने गरी गणना जारी छ । रौतहट जिल्लामा भने प्रत्यक्षतर्फको मतगणना शुक्रवार सकिएको हो ।
आज घोषित मत परिणाम अनुसार क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार किरण साहले नेकाका उम्मेदवार महमद फिर्दोश आलमलाई ४,५९४ मतान्तरले पराजित गरे । साहले ३२,८४२ मत ल्याए भने आलमले २८ हजार २४८ मत ल्याए ।
यसैगरी क्षेत्र नं ३ बाट पनि स्वतन्त्र उम्मेदवार प्रभु साह आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाललाई ७,२३७ मतान्तरले पराजित गरेर दोस्रोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनले ३२,२३७ मत पाए भने जसवालले २५,२०० मत पाएका थिए । रौतहट जिल्लाको अन्य उम्मेदवारहरूको मत परिणाम बिहीवार घोषणा गरिएको थियो ।
बारा जिल्लामा भने अझै मतगणना जारी छ ।
प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं २ मा मतगणना भइरहेको छ भने प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १ (१) र क्षेत्र नं ३ (२) को मतगणना जारी छ ।
प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले ११,०२५ मतले अग्रता बनाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका रामसहाय यादवले १०,६८४ मतले पछ्याइरहेका छन् ।
प्रदेशसभा सदस्य १(१) मा एमालेका त्रिलोकी चौधरी १६,७९८ मतले अगाडि छन् भने दोस्रोमा नेकाका रमेश दङ्गालले १४,२७० मत ल्याएका छन् ।
यसैगरी क्षेत्र नं ३–२ मा एमालेका महमद सगीर ७,७६९ मतले अगाडि छन् भने दोस्रोमा जसपाका पारसप्रसाद साह ७,५११ मतले पछ्याइरहेका छन ।
आज भएको मत परिणाममा प्रतिनिधिसभामा क्षेत्र नं १ बाट अच्युत मैनाली ३९,१९५ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेका उमाकान्त चौधरीले ३०,०५९ मत पाए ।
यसैगरी क्षेत्र नं २ बाट एमालेकै ज्वाला साह २०,२४१ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका रामबाबूप्रसाद यादवले १७,२६१ मत पाए ।
प्रदेशसभातर्फ आज भएको मत परिणाम घोषणानुसार क्षेत्र नं १ (२) बाट जसपाका सरोज यादव १५,९२७ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका नागेन्द्र साहले ११,०४० मत पाए ।
यसैगरी क्षेत्र नं २ (१) बाट स्वतन्त्र उम्मेदवार शारदाशङ्कर कलवारले ९,२९५ मत पाएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी एमालेका बलवीर चौधरीले ६,८६७ मत पाए । बाँकी क्षेत्रको मत परिणाम बिहीवार सार्वजनिक भइसकेको छ ।