प्रस, वीरगंज, ८ मङ्सिर/

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतपरिणामपछि पराजय भोगेका उम्मेदवारहरूले गठबन्धनको नाममा राजनीतिक करियर सिध्याइएको आरोप लगाएका छन् ।  उनीहरूले यसपालिको चुनावमा दल तथा गठबन्धनले असहयोग गरेको गुनासो गरे ।

वाम–लोकतान्त्रिक गठबन्धन र एमाले–जसपा गठबन्धनका कारण आफूहरूको आर्थिक, सामाजिक तथा राजनीतिक करियर सिद्धिएको बताए । गठबन्धन नाम मात्रको रहेको र सबैले एकअर्कामाथि घात गरेको उनीहरूको आरोप छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवारको रूपमा पर्सा निर्वाचन क्षेत्र ३ (१)बाट चुनाव लडेका छोटेलाल यादवले आफूमाथि घात भएको आरोप लगाए । चुनावमा पराजय भोगेको कारण ठूलो आर्थिक सङ्कटमा परेको बताए ।

चुनावी अभियानमा सहयोग गरिरहेका वरिष्ठ नेताहरूले नै सूचना चुहाएर घात गरेको भन्दै सामाजिक सञ्जालमा दुःखेसो पोखेका छन् । उनले अन्य क्षेत्रका उम्मेदवारलाई आफूले सघाएको तर गठबन्धनको मुख्य दल नेपाली काङ्ग्रेसले नै आफ्नो क्षेत्रमा धोका दिएको आरोप लगाए ।

सोही क्षेत्रबाट जसपा–एमाले गठबन्धनका उम्मेदवारअब्दुल करिम अन्सारी (मन्जुर)ले गठबन्धनबाट भन्दा स्वतन्त्ररूपमा लडेको भए जित्ने दाबी गरे । एमाले र जसपाले छुट्टाछुट्टैरूपमा स्वतन्त्रको नाममा बागी उम्मेदवार खडा गरेको र एमालेले पनि असहयोग गरेको कारण आफूले पराजय भोग्नुपरेको उनले प्रतिक्रिया दिए ।

सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवार शेख चाँदताराले पनि गठबन्धनमाथि दोषारोपण लगाइन् । उनले गठबन्धनले असहयोग गरेको कारण पराजय भोग्नुपरेको बताइन् । उनले आफ्नो जन्मस्थल सोही क्षेत्रमा भएपनि बाहिरको उम्मेदवार हो भनी झूटो प्रचारबाजी गरेका कारण आफूलाई कम मत परेको आरोप लगाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here