काठमाडौं, ८ मङ्सिर/रासस
बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फूटबल २०२२ मा विजयी सुरुआत गरेको छ ।
कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेलमा क्यानडालाई १–० गोलअन्तरले हराउँदै बेल्जियमले प्रतियोगितामा विजय यात्रा तय गरेको हो । मिसी बात्सुयीले गरेको एक गोल नै बेल्जियमका लागि निर्णायक साबित भयो । उनले खेलको ४४औं मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् ।
त्यसअघि खेलको ११औं मिनेटमा क्यानडाका अल्फन्सो डाभिसले हानेको पेनाल्टी बेल्जियमका गोलकीपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए । बेल्जियमका यान्निक कारास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो । जीतसँगै समूह ‘एफ’को बेल्जियमले तीन अङ्क जोडेको छ ।
स्वीट्जरल्यान्ड विजयी
स्वीट्जरल्यान्डले क्यामरूनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फूटबलमा विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरूनलाई १–० गोलले हराउँदै स्वीट्जरल्यान्डले विजयी सुरुआत गरेको हो । स्वीट्जरल्यान्डको जीतमा ब्रिल एम्बोलोले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८औं मिनेटमा साकिरीको पासमा गोल गरेका थिए ।
यस जीतसँगै समूह ‘जी’मा रहेको स्वीट्जरल्यान्डले तीन अङ्क जोडेको छ ।
स्पेनद्वारा कोस्टारिकामा गोलवर्षा
कतारमा जारी फिफा विश्वकप फूटबलमा स्पेनले कोस्टारिकामाथि गोलको वर्षा गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कतारको अल थुमामा स्टेडियममा आज राति भएको खेलमा कोस्टारिकालाई ७–० गोलअन्तरले हराउँदै स्पेनले विजयी सुरुआत गरेको हो ।
स्पेनले खेलको पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल ग¥यो । स्पेनको जीतमा फेरान टोरेसले दुर्ई गोल गरे भने डानी ओल्मो, मार्काे एसेन्सियो, गाभी, कार्लाेस सोलेर र अल्भारो मोराटाले एक/एक गोल गरे । स्पेनले खेलको ११औं मिनेटमा ओल्मोको गोलबाट सुरुआती अग्रता बनाएको थियो । खेलको २१औं मिनेटमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २–० को बन्यो ।
खेलको ३१औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि स्पेन पहिलो हाफमा ३–० ले अघि रह्यो । कोस्टारिकाका ओसकारले जोर्डी अल्बालाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको हो । खेलको ५४औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४–० को अग्रता दिलाए ।
७५औं मिनेटमा गाभीले गोल गर्दै स्पेनलाई ५–० को अग्रता दिलाए । खेलको ९०औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई ६–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७–० गोलको फराकिलो जीत दिलाए । यस जीतसँगै समूह ‘ई’को स्पेनले पहिलो खेलमैं तीन अङ्क जोडेको छ ।