प्रस, परवानीपुर, ६ मङ्सिर/
आमनिर्वाचन–२०७९ को मतगणनाको पछिल्लो अद्यावधि अनुसार पर्साका चार प्रतिनिधिसभा सदस्यको प्रारम्भिक रूझान आउन थालेको छ भने आठ प्रदेशसभा सदस्यमध्ये दुईजनाको परिणाम सार्वजनिक भएको छ भने एकजनाको जीत पक्कापक्की भएपनि घोषणा हुन बाँकी छ । पर्सा क्षेत्र नं २ (१) मा नेका र पर्सा क्षेत्र नं ४ (१) बाट नेकाकै उम्मेदवार जितेका छन् । पर्सा क्षेत्र नं ४ (२)बाट जसपाले प्रदेशसभा सदस्यमा जित्ने सम्भावना प्रबल छ । हिजोदेखि पर्सा १ र २ को मतगणना वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा भइरहेको छ भने पर्सा ३ र ४ को मतगणना पोखरियास्थित जिल्ला उचाङ्गल रामदेव कलवार माविमा भइरहेको छ । पर्सामा मङ्गलवारको मतगणना अनुसार प्रतिनिधिसभा सदस्यमा पर्सा क्षेत्र नं १ मा जसपाका प्रदीप यादव, २ मा नेपाली काङ्ग्रेसका अजयकुमार चौरसिया, ३ मा नेपाली काङ्ग्रेसका सुरेन्द्रप्रसाद चौधरी र ४ मा नेपाली काङ्ग्रेसकै रमेश रिजालले अग्रता बनाएका छन् । त्यसैगरी, प्रदेशसभातर्फ आठवटा क्षेत्रमध्ये दुईवटामा काङ्गे्रसले जितेको छ भने एउटामा अगाडि छ । यसैगरी, जसपा एउटामा जीतको नजीक छ भने एउटामा अगाडि छ र स्वतन्त्र दुईवटामा र एउटामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाएका छन् । मुख्य निर्वाचन अधिकृतहरूको कार्यालयले दिएको जानकारी अनुसार पर्सा १ मा प्रतिनिधिसभातर्फ जसपाका प्रदीप यादवले दश हजार ४५९ मत पाउँदा स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीले नौ हजार १८६ मत ल्याएका छन् ।
त्यसैगरी, पर्सा १ (१)मा प्रदेशसभातर्फ माओवादी केन्द्रका रहबर अन्सारीले अग्रता बनाएका छन् । उनले चार हजार ८७० मत पाउँदा स्वतन्त्रका जन्नत अन्सारीले चार हजार २९१ मत ल्याइ पछ्याइरहेका छन् । त्यसैगरी, १ (२) मा मुख्यमन्त्री लालबाबू राउत गद्दीले अग्रता बनाएका छन् । गद्दीले छ हजार ६०२ मत पाउँदा काङ्ग्रेसका रामनारायणप्रसाद कुर्मीले पाँच हजार ११४ मत ल्याएका छन् ।
त्यसैगरी, पर्सा क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ काङ्ग्रेसका अजयकुमार चौरसिया आठ हजार ९०४ मतले अग्रस्थानमा छन् । उनलाई जसपाका उम्मेदवार सुरेन्द्रप्रसाद कुर्मीले छ हजार ३३५ मतका साथ पछ्याइरहेका छन् । प्रदेशसभातर्फ २ (१)मा काङ्ग्रेसका श्यामप्रसाद पटेल जितेका छन् । उनले १२ हजार १५४ मत पाएर जिते भने जसपाका रामनरेश यादव १० हजार ४३८ मत ल्याइ पराजित भए ।
२ (२)मा स्वतन्त्र उम्मेदवार रूपेशमान सिंह श्रेष्ठले चार हजार ५४९ मत ल्याइ अग्रता बनाएका छन् । लोसपाका रमेशप्रसाद कुर्मी चार हजार २७७ मत ल्याइ दोस्रो स्थानमा छन् ।
त्यसैगरी, पर्सा ३ मा प्रतिनिधिसभातर्फ काङ्ग्रेसका सुरेन्द्रप्रसाद चौधरी सात हजार ५३६ मतका साथ अग्रता बनाएका छन् । एमालेका राजकुमार गुप्ता छ हजार २९३ मत ल्याएर पछ्याइरहेका छन ।
त्यसैगरी, ३ (१)मा स्वतन्त्र उम्मेदवार प्रमोद जैसवालले अग्रता बनाएका छन् । उनले चार हजार ४९३ मत ल्याएका छन् भने अर्का स्वतन्त्र चन्द्रकिशोर चौधरीले दुई हजार १९३, अर्का स्वतन्त्र उम्मेदवार नीरराज गिरीले दुई हजार ४७ र एमालेका अब्दुररहिम अन्सारीले दुई हजार १२ मत ल्याएका छन् । ३ (२)मा काङ्ग्रेसका जनार्दनसिंह क्षत्रीले पाँच हजार ३६० मतका साथ अग्रता कायम राखेका छन् । उनलाई जसपाकी डा मधु गुप्ताले तीन हजार ६४९ मतका साथ पछ्याइरहेकी छन् ।
त्यसैगरी, पर्सा ४ मा प्रतिनिधिसभातर्फ रमेश रिजालले १४ हजार ६१४ मतले अग्रता बनाएका छन् भने एमालेका जालिम मियाँले १२ हजार ३१० मतले पछ्याइरहेका छन् ।
त्यसैगरी, ४ (१)मा काङ्ग्रेसका शङ्कर चौधरी विजयी भएका छन । उनले १२ हजार १५४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जयप्रकाश थारूले १० हजार ४३८ मत ल्याए । त्यसैगरी, ४ (२)मा जसपाका सिंगाहसन साह कलवारले दोस्रोपटक जीत हात पारेका छन् ।