प्रस, सेढवा, २ मङ्सिर/

केही वर्षदेखि कृषि कार्यका लागि मेशिनमा आधुनिकीकरण भएसँगै काम गर्न सहज भएपनि किसानहरूलाई कठिनाइको पनि सामना गर्नुपरेको छ। धान वा गहुँबाली कटानीका लागि हार्भेस्टर मेशिनको प्रयोग भइरहेको छ र अहिले धान काट्न किसानहरूलाई सहज पनि भएको छ।

१५ जना मजदूर मिलेर एक दिनमा एक बिघा क्षेत्रफलको धान काट्ने गरे पनि मेशिनले एक घण्टामैं सो कार्य गर्न सक्छ। हार्भेस्टरले धानबाली काट्ने र दाइँसमेत गर्ने हुनाले किसानहरूलाई दुवै कार्य एकैपटक हुँदा हाइसन्चो हुने गरेको छ। मेशिनका कारण समय र पैसाको बचत भएको किसानहरू बताउँछन्। तर हार्भेस्टरबाट धान भित्र्याउँदा केही समस्याको सामना गर्नुपरेको उनीहरूले बताए। मेशिनबाट काटेको धान भिज्ने गरेकोले एक सातासम्म सुकाउनुपर्ने बाध्यता रहेको जीराभवानी गाउँपालिका–२ सेढवाका किसान रामाकान्त चौधरीले बताए। बिहान नौ बजे जम्मा गरिएको धान फिजाउनुपर्ने र साँझ फेरि एक ठाउँमा जम्मा गरी त्रिपालले छोप्नुपर्ने समस्या झेल्दै आएको उनले बताए। मङ्सिरमा चर्काे घाम नलाग्ने र दिन सानो भएकोले धान सुकाउन एक साता समय लाग्ने गरेको चौधरीले बताए।

अहिले किसानहरूको दैनिकी धान सुकाउने बनेको छ। सडक, पेटी, घरको आँगन र छतमा किसानहरूले धान सुकाउँदै आएका छन्।

यसैगरी, हार्भेस्टरबाट बाली कटानी गर्दा पराल बन्दैन। वस्तु भएका किसानहरूलाई यो समस्या पनि झेल्नुपरेको छ। त्यसैले वस्तु भएका किसानहरूले हार्भेस्टरको प्रयोग गर्न सकेका छैनन्। परालको लागि उनीहरूले मजदूर खटाएर धान भित्र्याउनुपर्ने बाध्यता छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here