मतदान जनादेश हो। जनताले मतको रूपमा आदेश दिने र सोही आदेशअनुरूप दल तथा तिनका प्रतिनिधिहरूले भूमिका निर्वाह गर्ने हो। जित्ने उम्मेदवार औपचारिकरूपमा जनप्रतिनिधिको भूमिकामा पुग्छन्। बहुमत जुटाउन सक्ने दल सत्ताको नेतृत्व गर्न पुग्छ। हार्ने दल तथा उम्मेदवार पनि भूमिकाविहीन भने हुँदैनन्। बहुमत जुटाउन नसक्ने दल प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई सही बाटोमा हिंडाउनका लागि खबरदारी गरिरहेका हुन्छन् भने हारेका उम्मेदवारहरू नागरिक समाजमा गएर समाजको आवाज बुलन्द गर्दै अगुवाइ गर्न थाल्छन्। तर नागरिक समाज तथा मतदातासँग भने यस्तो विकल्प रहँदैन। मतपत्रमा छाप हानिसकेपछि फिर्ता गर्ने कुनै उपाय छैन। विश्वका कतिपय मुलुकमा जनप्रतिनिधिलाई जनताले बीचैमा फिर्ता बोलाउन पाउने संवैधानिक अधिकार छ। हाम्रो मुलुकमा त्यस्तो प्रावधान छैन। मतदाताले एकपटक मतदान गरेपछि कुनै दुर्घटना नभए सोही किसिमको मतदान गर्न पुनः पाँच वर्ष पर्खनुपर्छ। पाँच वर्षको अवधि भनेको मानवजीवनको ठूलो हिस्सा हो। हाम्रो मुलुकका बासिन्दाको सरदर आयु ७३ वर्ष छ। सो अनुसार पाँच वर्षको एउटा आवधिक निर्वाचन बित्दा जीवनको झन्डै सात प्रतिशत अवधि समाप्त हुन जान्छ। अझ भन्ने हो भने एक कार्यकाल निकम्मा प्रतिनिधिले बिताउँदा मतदाताको जीवनको महत्वपूर्ण खण्ड पार भइसकेको हुनेछ।

त्यसैले मतदान मतदाताको फैसला तथा जनादेश मात्र होइन, यो त मतदाताको भाग्य र भविष्य दान पनि हो। हिन्दू धार्मिक परम्परा अनुसार छोरीको विवाह गर्दा कन्यादान गरिन्छ। “मारे हत्या, पाले पुण्य” भनेर ज्वाइँलाई छोरी सुम्पने वा दान गर्ने चलन छ। त्यस्तै मतदान पनि आफूले रोजेको उम्मेदवार तथा दललाई “ल अब जे गर्छौं गर, मैले तिमीलाई मतको रूपमा मेरो र मेरो देशको भाग्य अनि भविष्य सुम्पिएँ है” भनेर गरिने दान हो। मतदानले हरेक नागरिकको जीवनमा महत्वपूर्ण र प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। हाम्रो मुलुकको संविधानले प्रत्येक व्यक्तिलाई उम्मेदवार छनोट गर्ने अधिकार दिएको छ। निर्वाचित उम्मेदवारलाई सरकार सुम्पिइन्छ। सरकारले देश चलाउने हो। देश चलाउने अधिकार सही व्यक्तिसँग भयो भने उसले देशको विकास र जनताको विकासमा सकारात्मक योगदान पुग्ने महत्वपूर्ण कामहरू गर्नेछ। यसले नागरिकको जीवनमा परिवर्तन ल्याउँछ। यदि गलत उम्मेदवार छनोट गरियो भने उसको राज्य सञ्चालन वा खबरदारीको तरीकासमेत गलत हुने हुँदा त्यसले नागरिकको जीवनमा नकारात्मक असर गर्छ। त्यसैले हरेक मानिसको जीवन परिवर्तनमा मतको धेरै महत्व छ। हरेक मतसँग मुलुक र मुलुकवासीको भाग्य र भविष्य प्रत्यक्ष वा परोक्षरूपमा जोडिएको हुन्छ।  

हाम्रो मुलुक नेपाल, लोकतान्त्रिक शासन व्यवस्था अभ्यासको क्रममा छ। लोकतान्त्रिक व्यवस्थामा शासन सत्ता सञ्चालन गर्ने हरेक शासक जनताबाट चुनिन्छन्। मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको भए तापनि यहाँका नागरिक वा राजनीतिक दल तथा नेतृत्व तहसमेत पूर्णरूपमा लोकतान्त्रिक भइसकेका छैनन्। एक दलीय शासन व्यवस्थाको शैली र धङधङी अझै छ। परिस्कृत भइनसकेको यो अवस्थामा असल र दूरदर्शी प्रतिनिधि चयन गर्न नसके लोकतान्त्रिक व्यवस्थाको गति अपेक्षा अनुरूप अगाडि बढ्न सक्दैन। यसर्थ पनि मङ्सिर ४ को मतदान हाम्रो भाग्य र भविष्य सुम्पने दान हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here