– राजेश मिश्र

“भाइ हो, बिहान भोट बा। हम त होत सबेरे भोट देवे जाएम। पहिले भोट दे देम, ओकरा बाद खाना खा के खेत में जाएम।” एकाबिहानै घुर बालेर आगो तापिरहेका दुईजनामध्ये एकजनाले भने। ती दुवैजनाले मतदानको दिन के के गर्ने भन्दै मङ्सिर ४ गते आइतवारको आफ्नो दिनचर्याबारे एकले अर्कालाई सुनाइरहेका थिए। ती गृहस्थहरू बिहान मत खसाल्ने र त्यसपछि खाना खाएर कृषि कर्ममा लाग्ने योजना बनाइरहेका थिए।

ब्रह्म मुहूर्तको समय थियो। आमुन्ने–सामुन्ने घर भएका उनीहरूले मवेशीहरूलाई नादमा बाँधे, लेदी–पानी नादमा हालिसकेपछि घुर ताप्दै भलाकुसारी गर्न थाले। आँखा मिच्दै अर्का एकजना छिमेकी पनि आइपुगे। समयको गतिसँगै बिस्तारै अँध्यारो ओझेल र उज्यालो प्रकट भइरहेको थियो। अघिदेखि दुईजना घुर तापिरहेको स्थानमा तीन/चार गर्दै अहिले दशजनाभन्दा बढीको जमघट भइसकेको थियो। मतदानको माहोलबारे होला, कोही सुन्न, कोही सुनाउन त कोही अर्काको भेद जान्न आज चाँडै घुर ताप्न आइपुगेका थिए। भोलिपल्ट मतदान छ। त्यस कारण मानिसहरूको भेलामा उम्मेदवारहरूबारे चर्चा हुनु स्वाभाविक थियो।

“हो, बताव ना लोगन, भोट केकरा के देवे के मन बा ?” नवआगन्तुकले घुर ताप्न बसेसँगै प्रश्न ठोके। अघिदेखि घुर तापिरहेकामध्ये एकजनाले आगो चलाउँदै भने, “अपने बुझाता जासुसी करे आइल बानी। आवते सवाल ठोक देनी।” आशङ्कासहित हाँसोजन्य ठहाका गुञ्जियो।

मौन अवधिमा दलनिकट जासुसहरू यताउति घुमिरहन्छन्। मतदाताहरूको विचार बुझ्ने, आकासम्म खबर पु–याउने र आदेश अनुसार मतदातालाई प्रभावमा पार्ने  काममा खटेका उनीहरूले आफ्नो चरित्र पहिले नै रक्सी–मासुमा बिक्री गरिसकेका हुन्छन्। यो काम क्षणिक आनन्द हो भन्ने कुरा त्यस्ता मानिसहरूलाई थाहा हुँदैन भन्ने होइन। चुनावी माहोलमा को कसको खुफिया हो अपवादबाहेक मतदाताहरूलाई बुझ्न भने गा–हो हुँदैन।

चुनावी चर्चा परिचर्चा भइरहेका बेला एक्कासि ठूलो स्वरमा नवआगन्तुक गर्जिए, “ना मन बा का ? साफ मुह में लाठी …।” उनको वाक्य पूरा नहुँदै, “हाँ–हाँ, सबेरे–सबेरे, राम–राम के बेरा गारी ना नु देवे के। का भइल ह जे भड्क गइनी ?” एकसाथ सबैको स्वर गुञ्जित भयो। नवआगन्तुकको अनुहारमा असह्य पीडा झल्किरहेको थियो। उनले भने, “तहनी के थाह बा ? आगी खोरते–खोरते हमर सामान (गुप्ताङ्ग) दाग देलख।” लगत्तै आरोपित व्यक्तितर्फ सबैजनाको ध्यान आकृष्ट भयो। हाँस्दै ती व्यक्तिले जानीजानी नदागेको स्पष्टीकरण दिंदै अङ्ग छर्लङ्ग गरेर होइन, छोपेर बस्न सुझाव दिए। यससँगै नवआगन्तुकको मुहारबाट पीडा हराएर लाज प्रकट भयो। माहोल हाँसोजन्य ठहाकामा परिणत भयो। यस घटनापछि उनी चनाखो देखिन्थे।

असह्य जाडो होस् वा गर्मी, सोबाट बच्ने विविध उपक्रम विज्ञानले प्रदान गरेको छ। यद्यपि जाडोमा घुर सबैभन्दा सस्तो र भरपर्दो उपक्रम हो। मानिसहरूको जमघटमा बसेर घुर ताप्ने आनन्द भिन्दै हुन्छ। घुरले तातो मात्र प्रदान गर्दैन, अपितु सामाजिक भेला र समसामयिक विषयमा चर्चा गर्ने थलो पनि हो।

बिहानको आठ बज्नै लागेको थियो। जमघटमा उम्मेदवारहरूको जीत–हारको बहस छेडिसकेको थियो। त्यसै बेला मात्तिए जस्तै चालढालमा पल्लो गाउँका दुई/तीनजना युवा घुरनजीक आए। हात जोडेर सबैजनालाई नमस्कार गर्ने उनीहरूको प्रयत्न हेर्न लायक थियो। उनीहरूले आफूलाई सन्तुलित पार्ने जति प्रयत्न गरे तापनि हाउभाउ, बोलचाल र हिंडाइले जाँड खाएको ठम्याउन कठिन थिएन।

अघिदेखि आफ्नै तालमा व्यस्त त्यो जमघट शान्त मुद्रामा ठिटाहरूको क्रियाकलाप अवलोकन गर्न थाल्यो। जमघटमध्ये सबैभन्दा बढी उमेरका एक वृद्धले सोधे, “भोरे–भोरे सर्बत (जाँड) मार लेले बाड लोगन का बबुवा ?” एकले, “ना–ना, ओइसन बात नइखे” र अर्कोले, ‘राति के तानका बचल रल त मार लेनीहसन’ भन्न थाले। उनीहरूले भने, “हामी बेहोश छैनौं, होशमा छौं।” अन्ततः उनीहरूको कृत्य हेरेर क्षुब्ध मानिसहरू १०० नम्बरमा फोन गर्ने धम्की दिएपछि जँड्याहाहरू कुलेलम ठोके।

निर्वाचनको समयमा निषेधित दारुको बिक्री–वितरण तथा केटाहरूको रवैयाप्रति उनीहरूले रोष प्रकट गरिरहेका थिए। सोही बाटो हुँदै आइरहेका एकजना मजदूरलाई हेरेपछि जमघटमध्येका एकजनाले घुरतर्फ आउन इशारा गर्दै भने, ”ए काका, खेत ओरी से आवतानी का ? काहे उदास बानी ?” काँधमा एकातर्फ कोदालो र अर्कोतर्फ कुर्ता झुन्ड्याएका ती काकाको खुट्टा धूलाम्य थियो। उनलाई हेरेर खेतबाट आइरहेको कुरा अनुमान गर्न कठिन थिएन।

काका बिस्तारै घुरनजीक आए र गहिरो सास लिंदै कोदालो भुइँमा राखे। सबैको अनुहार हेर्दै उदास मुद्रामा भने, “ना हो बबुवा लोगन, उदास नइखीं नु।” गहिरो चिन्तामा लिप्त उनको अनुहारमा कृत्रिम मुस्कान प्रकटोन्मुख थियो। शायद उनी आफ्नो अवसाद सुनाएर अरूलाई दुःखी तुल्याउन चाहिरहेका थिएनन्। उपस्थित सबैको मुखारबाट एकसाथ समान वाक्य प्रतिध्वनित भयो, “ना काका, कुछ बात त बा। तोहरा चेहरा पर उदासी साफ झल्कता।”

समस्या साझा गरेपछि मन हल्का हुन्छ भन्ने कुरा उनलाई थाहा नभएको होइन। उनी समस्या साझा गरेर मन हल्का गर्न पनि चाहन्थे। तर कोसँग साझा गर्ने ? के भन्ने ? कसरी भन्ने ? किन भन्ने ? लगायतका अङ्कुरित प्रश्नहरूले उनको छातीमा पीडा उत्पन्न हुन्थ्यो। यद्यपि जिब्रोसम्म पुगिसकेको पीडा सबैजनाले कर गर्न थालेपछि अन्ततः मुखरित भयो। मनको वेदना सुनाउन थाले।

उनले भने, “पढाइमा अब्बल छोरी गत वर्ष चिकित्साशास्त्र सङ्कायतर्फ एमबिबिएस आंशिक छात्रवृत्तिमा नाम निकालेकी थिइन्। यद्यपि लाखौं रुपैयाँ तिर्नुपर्नेे भएकोले छोरीको चिकित्सक बन्ने सपना पूरा गर्न सकिएन। यस वर्ष कृषि सङ्कायतर्फ पूर्ण छात्रवृत्तिमा कान्छो छोराले नाम निकालेको छ। यद्यपि चार वर्षमा कलेज र होस्टल गरी झन्डै चार/पाँच लाख रुपैयाँ खर्च लाग्ने कुरा सुन्दैछु। मजदूर बुबाले छोराछोरीको सपना कसरी पूरा गर्न सक्छ ? घरघडेरी र खेत बन्धक राखेर पनि उनीहरूको सपना पूरा गर्न सकिंदैन। त्यस कारण तनावमा छु। भोक र निद्रा हराइसकेको छ। गरीब र मजदूरको लागि पढाइमा अब्बल हुनु अभिशापतुल्य भएको छ।”

उनले वीरगंज चिनी कारखानामा रोजगार हुँदासम्म परिवारको गुजारा राम्रोसँग भइरहेको कुरा सुनाए। कारखाना बन्द भएपछि रोजगारविहीन भए। कारखाना सञ्चालन हुने कुरा नेताहरूको भाषणमा सुनेपछि रोजगार फर्किन्छ कि भनेर उनको मनमा आशा पलाउँछ। उनले भने, “नेताहरूको चिप्ला कुराहरू सुन्दासुन्दै बुढेसकाल लागिसक्यो। चिन्ताले शारीरिक ऊर्जा शिथिल भइसक्यो,” आदि भनिरहँदा उनको आँखा रसायो।

काकाको वचनमा पीडा थियो। उनको पीडा सुनेर माहोल भावविह्वल भयो। त्यहाँ उपस्थित बन्धुबान्धवहरूसँग उनलाई सान्त्वना दिनुबाहेक विकल्प थिएन। गाउँभरिका मानिसहरूको भेला अहिले त्यहीं थियो। देश दुनियाँ जाने बुझेका दुई/चारजना मानिसहरूको उपस्थिति पनि जमघटमा थप भएपछि बृहत् छलफल हुन थाल्यो।

छात्रवृत्तिमा नाम निकाले पनि गरीब विद्यार्थीलाई अध्ययन गर्नु चुनौतीपूर्ण छ। कृषि, स्वास्थ्य, शिक्षा र रोजगारको डफली बजाउने उम्मेदवारहरूले भाषणमा मात्र समेटेर हुँदैन। कार्यान्वयनमा जोड दिनुपर्दछ। सरकारी लगानीका जनकपुर चुरोट कारखाना, भृकुटी कागज उद्योग, सिमेन्ट उद्योगलगायत दर्जनौं उद्योग बन्द छन्। तर नेताहरू रोजगारको कुरा गर्छन्। भर्खरै कृषि औजार कारखानाको सरसफाइ भएका समाचारहरू आएका छन्। तर विगत हेर्दा सञ्चालन हुने कुरा नागरिकहरूलाई पत्याउन मुस्किल छ। यावत् सामाजिक सरोकारका विषयहरू उनीहरूको बहसको केन्द्रबिन्दुमा थियो।

धेरैबेरदेखि बोल्न खोजिरहेका एकजनाको धैयर्ताको बाँध टुटेपछि जोडले कराउँदै चुप–चुप भने। माहोल शान्त भयो। सबैको ध्यान उनीतर्फ केन्द्रित भयो। उनले भने, “भाइ लोगिन हो, आज रातभर चम्चा–बेल्चा घुमिहसन। पैसा के लालच दिहसन। बच के।” मौन अवधिमा आचारसंहिताविरुद्ध गतिविधि गर्ने वा मतदातालाई प्रलोभनमा पार्ने उपर निगरानी गर्ने उनको कुरामा सबैजनाले समर्थन जनाए। त्यसैगरी, आआफ्नो घरमा प्रत्येक सदस्यसँग निर्णायक छलफल गर्ने र सोही अनुसार गोप्य मतदान गर्ने कुरामा सहमति जनाउँदै प्रस्थान गरे।

rajesh560107@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here