– विश्वराज अधिकारी
प्राकृतिक विपद्
धेरै व्यक्तिलाई लाग्छ अमेरिकामा केवल सुख मात्र छ। समृद्धि मात्र छ। कुनै समस्या छैन। अमेरिकाले कुनै किसिमको प्राकृतिक विपद्को सामना गर्नुपर्दैन। जनधनको क्षति हुँदैन।
अमेरिकाले प्रत्येक वर्ष अनेक किसिमका प्राकृतिक विपद्हरूको सामना गर्नुपर्दछ। र ती प्राकृतिक विपद्हरू हुन्– वन डढेलो, बाढी, भुइँचालो, चक्रवात
(टोर्नाडो), समुद्री आँधी आदि इत्यादि। चक्रवात र समुद्री आँधी (ज्गचचष्अबलभ)ले भने अमेरिकालाई अधिक सताउने गर्छ। त्यसो त भुइँचालो पनि बेलाबेलामा आउने गर्दछ। भुइँचालोले सबैभन्दा बढी क्यालिफोर्निया राज्यलाई प्रभावित गर्ने गरेको छ। अक्टोबर १७, १९८९ मा क्यालिफोर्नियामा आएको ६.९ म्याग्निच्युडको भुइँचालोले ६३ जनाको ज्यान लिएको थियो। तीन हजार ७५३ व्यक्तिलाई घाइते पारेको थियो। १० बिलियन डलर बराबरको क्षति गरेको थियो। ६ देखि ७.९ म्याग्निच्युडका धेरै भुइँचालाहरू क्यालिफोर्नियाले बेहोरिसकेको छ।
यसैगरी, अमेरिकाका विभिन्न राज्यमा चक्रवात पनि निकै आउने गर्दछ। टेक्सास, क्यान्सस, ओक्लहोमा, अलाबामा, मिसिसिपी अमेरिकाका यस्ता राज्य हुन्, जहाँ प्रायः प्रत्येक वर्ष चक्रवात आउने गर्दछ र जनधनको क्षति गर्दछ। चक्रवात, शक्तिशाली हावाको यस्तो गति हो, जसले ठूलाठूला घरहरूसमेत उडाइदिने गर्दछ। मे २२, २०११ मा मेजोरी राज्यको जोपलिन भन्ने शहरमा आएको चक्रवातले १५८ व्यक्तिको ज्यान लिएको थियो। केवल ३८ मिनेट मात्र सक्रिय रहेको उक्त ‘एफई ५’ स्तरको चक्रवातले २.८ बिलियन डलरको धनसम्पत्ति नष्ट पारेको थियो।
समुद्री आँधीले पनि अमेरिकालाई अति नै सताउने गर्दछ। कैटरिना, एन्ड्रयू, स्यान्डी जस्ता ठूलाठूला र अनेक सानासाना समुद्री आँधी अमेरिकाका अनेक राज्यहरूमा आइसकेका छन्। सानाठूला गरी अमेरिकाका अनेक राज्यमा समुद्री आँधी आउने गर्दछन्। र तिनले जनधनको क्षति गर्छन्। अगस्त २९, २००५ मा अमेरिकाका तटीय राज्यहरू अलाबामा, लुजियाना, मिसिसिपीमा आएको समुद्री आँधी, जसलाई कैटरिना नाम दिइएको थियो, ले ठूलो जनधनको क्षति गरेको थियो। यो समुद्री आँधीले एक हजार ८०० जनाको ज्यान लिएको थियो भने दुई लाख ७५ हजार घर नष्ट पारेको थियो। यसले गरेको आर्थिक क्षतिको मूल्य १०० बिलियन अनुमान गरिएको थियो। लुजियाना राज्यको न्यू ओर्लिन्स शहरलाई भने यो समुद्री आँधीले निकै पिरोलेको थियो। त्यहाँका घरहरूमा पसेका पानीको सतहको उचाइ २० फिटसम्म पुगेको थियो। एक हजार ४६४ जनाको ज्यान गएको थियो। समुद्री आँधीको त्यस्तो डरलाग्दो विनाशलीला देखेर हजारौं न्यू ओर्लियन्सवासीले स्थायीरूपमा अमेरिकाका अन्य राज्यहरूमा बसाइँ सारेका थिए। कैटरिनालाई अमेरिकाको इतिहासमा नै ठूला आँधीहरूमध्ये एक मानिएको छ। फ्लोरिडा, टेक्सास, लुजियाना, नोर्थ क्यारोलिना, साउथ क्यारोलिना, अलाबामा, जर्जिया, न्यूयोर्क, मिसिसिपी, भर्जिनिया अमेरिकाका यस्ता राज्यहरू हुन्, जहाँ बर्सेनि समुद्री आँधी आउने गर्दछ।
अमेरिकामा एउटा कुरा भने विशेष किसिमले उल्लेखनीय छ। अनेक किसिमका प्राकृतिक विपद्हरूले अमरिकीहरूलाई जुन गतिमा सताउने गर्छन्, त्यही गतिमा यहाँ नवनिर्माण र पुनर्निर्माण पनि हुने गर्दछ। अति मेहनती र सोच एवं चिन्तनमा अग्रस्थानमा रहन खोज्ने अमेरिकीहरूको प्रवृत्ति र स्वभावले प्रकृतिको विनाशकारी लीलामाथि नियन्त्रण गर्न सहयोग पु–याएको छ। अमेरिकाका अनेक स्थानहरूमा प्रकृति अति नै प्रतिकूल छ। र प्रकृतिले आफ्ना विनाशकारी लीलाहरू अमेरिकामा ठूलो सङ्ख्यामा नै देखाउने गरेको छ।