प्रस, वीरगंज, २६ कात्तिक/

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको लागि एक साता अवधि बाँकी छ ।

यसपटकको चुनावमा गठबन्धनका कारण उम्मेदवारहरूको सङ्ख्या पातलिएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनमा पाँच दल र जसपा–एमाले गठबन्धनमा अघोषित रूपमा राप्रपा, राप्रपा नेपालसमेतको सहकार्यले यसपटकको चुनावमा दलगतभन्दा गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । एमालेसँग देशका अन्य भागमा राप्रपा र राप्रपा नेपालले सहकार्य गरे पनि पर्सा जिल्लामा भने उनीहरूबीच सहकार्य देखिएको छैन ।

राप्रपाबाट छुट्टै उम्मेदवाहरू चुनावी मैदानमा छन् भने राप्रपा नेपालबाट जिल्लामा उम्मेदवारी परेको छैन । पर्सा क्षेत्र नं १ मा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लोसपाका लक्ष्मणलाल कर्ण, जसपा–एमाले गठबन्धनबाट जसपाका प्रदीप यादव र स्वतन्त्र उम्मेदवार अजय द्विवेदीबीच प्रतिस्पर्धा छ । द्विवेदी नेपाली काङ्ग्रेसबाट टिकट नपाएपछि एमालेबाट टिकटको लागि प्रयासरत थिए तर जसपा–एमालेबीच गठबन्धन भएर जसपाका प्रदीप यादवको टिकट सुनिश्चित भएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । अहिले त्रिपक्षीय प्रतिस्पर्धा हुने अडकल भएपनि अन्त्यमा यादव र द्विवेदीबीच मुख्यरूपमा प्रतिस्पर्धा हुने अडकल गरिंदैछ ।

पर्सा निर्वाचन क्षेत्र नं २ मा वाम लोकतान्त्रिक गठबन्धनबाट नेकाका अजय चौरसिया तथा जसपा–एमाले गठबन्धनबाट जसपाका सुरेन्द्रप्रसाद कुर्मी चुनावी मैदानमा छन् र यी दुवैबीच नै मुख्यरूपमा टक्कर हुने मतदाताहरूले अडकल काटेका छन् । यो क्षेत्रबाट यसअघिको चुनावमा जसपाका विमलप्रसाद श्रीवास्तव निर्वाचित भएका थिए । श्रीवास्तव यसपटक उम्मेदवार छैनन् । चौरसिया यसअघि श्रीवास्तवसँग पराजित भएका थिए । जसपा–एमाले गठबन्धनबाट जसपाका उम्मेदवार कुर्मी नयाँ अनुहार हुन् ।

पर्सा निर्वाचन क्षेत्र नं ३ मा वाम लोकतान्त्रिक गठबन्धनबाट सुरेन्द्र चौधरी तथा एमाले–जसपा गठबन्धनबाट एमालेका राजकुमार गुप्ताबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । गत चुनावमा यो क्षेत्रबाट जसपाका हरिनारायण रौनियार विजयी भएका थिए । उनीमाथि विशेष अदालतमा मुद्दा रहेकोले उम्मेदवार हुन पाएनन् । उनले यो निर्वाचनमा यो क्षेत्रको २ बाट प्रदेशसभा सदस्यमा छोरी डा मधु गुप्तालाई उम्मेदवार बनाएका छन् । यसै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेपाल सुशासन पार्टीबाट राजकुमार यादव पनि चुनावी मैदानमा छन् । पहिले एमाले र पछि आफैंले नेपाल जनता दल खोलेका उनी यो चुनावमा भने नेपाल सुशासन पार्टीबाट उम्मेदवार भएका छन् । उनको मतको सङ्ख्या पनि राम्रो छ तर मुख्यरूपमा गुप्ता र चौधरीबीच नै प्रतिस्पर्धा हुने मतदाताहरूको अनुमान छ ।              

पर्सा क्षेत्र नं ४ मा कुनै बखत एउटै दलमा रहेर एकले अर्कालाई सघाउँदै आएका रमेश रिजाल र जालीम मियाँबीच मुख्य प्रतिस्पर्धा हुने अडकल गरिंदैछ । मियाँ नेका परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका थिए भने पछि उनी एमालेमा प्रवेश गरेका हुन् । रिजाल र मियाँबीच पहिले निकै घनिष्ठता थियो । अहिले रिजाल वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार छन् भने मियाँ जसपा–एमाले गठबन्धनबाट उम्मेदवार छन् । दुवैजना अहिले एकअर्कालाई पराजित गराउन न्वारनदेखिको बल प्रयोग गर्दैछन् । यो क्षेत्रबाट अघिल्लो चुनावमा जसपाबाट जितेका लक्ष्मणलाल कर्ण यो चुनावमा पर्सा क्षेत्र नं १ मा लोसपाको तर्फबाट वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार छन् ।

गत निर्वाचनमा पर्सा जिल्लाका चारवटै क्षेत्रमा जसपाले जितेको थियो । अहिले जसपाबाट प्रतिनिधिसभा सदस्यमा दुईजनाको मात्र उम्मेदवारी परेको छ । यसैगरी, २०७० सालको चुनावमा तीन सिट जितेको एमाले गत चुनावमा खाली थियो । यो चुनावमा दुईजना उम्मेदवार छन् । नेपाली काङ्ग्रेसले भने २०७० को चुनावमा एक सिट जितेको थियो भने गत चुनावमा खाली थियो । अहिले सबैभन्दा बढी तीन सिटमा उम्मेदवार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here