प्रमोद यादव, पंचगावाँ, २६ कात्तिक/
पर्साका ग्रामीण क्षेत्रमा अहिले मतदाता रिझाउन गाउँगाउँमा दल र स्वतन्त्र उम्मेदवार र तिनका कार्यकर्ताहरू अहिले मतदाता रिझाउन सक्रिय छन् ।
मतदाता रिझाउनका लागि ग्रामीण क्षेत्रमा मदिरा, मासु र पैसाको खोलो बगाइएको छ ।
सखुवाप्रसौनी गाउँपालिका–२ का प्रभु यादवले अशिक्षित मतदाताहरूलाई प्रभावित पार्ने कार्य भइरहेको बताए । उनले अघिल्ला चुनावहरूभन्दा अहिले धेरैजसो शिक्षित भएका र उम्मेदवारहरूको प्रलोभनमा नपर्ने बताए । मतदाताहरू धेरैजसो शिक्षित छन्, उनीहरूलाई नेताहरूले आश्वासन मात्र दिने र चुनावको मुखमा मात्र सोधखोज गर्ने गरेको कुरा थाहा छ । त्यसैले उम्मेदवारहरूको आतिथ्य स्वीकार गरे पनि मतदान उनीहरूको पक्षमा गर्ने कुरामा सन्देह रहेको बताउँछन् । उनले मतका लागि ठेक्का दिने कार्य पनि प्रायः सकिएको बताए । पहिले मतको ठेक्का लिने/दिने चलन थियो । अहिले त्यस्तो अवस्था छैन । उम्मेदवारहरूले पनि यो कुरा बुझेकाले उनीहरूले यो चुनावमा घरदैलो कार्यक्रम गरी मतदाताहरूसँग प्रत्यक्ष भेट गर्ने गरेको यादवको बुझाइ छ ।
अर्का स्थानीय सुलामन मियाँ दर्जीले पनि अब कसैको प्रभावमा नपरी मतदान गर्ने बताए । उनले भ्रष्टहरूलाई जिताएर पाँच वर्ष पछुताउनुभन्दा सजग भएर असल उम्मेदवारको पक्षमा मतदान गर्ने बताए ।