प्रस, सेढवा, २४ कात्तिक/
पटेर्वासुगौली गाउँपालिकामा बिहीवार नमूना मतदान सम्पन्न भएको छ ।
वडा नं ४ स्थित सुगौली स्वास्थ्य चौकी परिसरमा भएको नमूना मतदानमा गापा अध्यक्ष दिनेशकुमार चौधरीले पहिले मतदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य स्वयंसेविका, सर्वसाधारण, जनप्रतिनिधि, पालिकाका कर्मचारीलगायतको सहभागिता रहेको निर्वाचन सम्पर्क व्यक्ति शम्भु साहले बताए । कार्यक्रममा ३५ जनाले मतदान गरेका जसमध्ये ३४ वटा मत सदर र एउटा मत बदर भएको जिल्ला निर्वाचन कार्यालय, पर्साकी मीरा बस्नेतले बताइन् । नमूना मतदान कार्यक्रममा उपाध्यक्ष ममता महतो, शम्भु महतोलगायतको सहभागिता थियो ।
यसैगरी, आइतवारदेखि यस गापामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । पालिकाका पाँचवटै वडामा एक/एक जना वडास्तरीय कर्मचारी र स्वास्थ्य स्वयंसेविकाको टोलीले घरघरमा पुगेर मतदाताहरूलाई मतदान गर्ने तरीकाबारे जानकारी गराइरहेको शिक्षा अधिकृत शम्भु साहले बताए ।
यसैगरी, बुधवार जीराभवानी गापामा नमूना मतदान सम्पन्न गरिएको थियो । वडा नं ३ स्थित बितो महतो जनता मावि, जीतपुर नौकाटोलामा नमूना मतदान भएको थियो ।
बलिराम शुक्ला, बिरुवागुठी/
पर्सागढी नगरपालिकामा बिहीवार नमूना मतदान भएको छ ।
निर्वाचन आयोग, पर्साको आयोजनामा पर्सागढी नपाको हरपुरमा भएको नमूना मतदानमा ३३ जना पुरुष र ३० जना महिला गरी ६३ जनाले मतदान गरेकामा तीनवटा मत बदर भएको पर्सागढी नपा निर्वाचन सम्पर्क प्रमुख अशोक चौधरीले जानकारी दिए ।
नगरप्रमुख गोकर्ण पाठक, प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराई, नपाका कर्मचारी, राजनीतिक दलका प्रतिनिधिलगायतले चारवटा छुट्टाछुट्टै मतपत्रमा मतदान गरेका थिए ।