प्रस, परवानीपुर, २४ कात्तिक/
१० वर्षदेखि खाल्डाखुल्डीमा परिणत भएको वीरगंज–रक्सौल मितेरी पुल क्षेत्रको सडक मरम्मत भइरहेको छ ।
सडक निर्माणमा अदालतले बाटो खोलिदिएपछि नेपाल–भारत मितेरी पुल, शङ्कराचार्यद्वार क्षेत्र, वीरगंज भन्सार हुँदै रजतजयन्तीसम्मको सडकको कालोपत्रे काम भइरहेको छ ।
मङ्सिर ४ गते अगावै सडकको काम सम्पन्न गर्ने गरी काम भइरहेको ठेकेदारले जनाएको छ । मितेरीपुलदेखि रजतजयन्ती चोकसम्मको १.३ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा सामा कन्स्ट्रक्शनले पाएको छ । मितेरी पुलको आधा भाग अर्थात् १३७ मिटर नेपालतिर पर्ने पुलको सडक पनि कालोपत्र भइरहेको छ ।
सडकको जग बसाल्न ग्राभेल पुर्ने, रोलर चलाउने र एक छेउमा सात सय मिटरसम्म प्राइमकोट हाल्ने काम भइसकेको सामा कन्स्ट्रक्शनका सञ्चालक जहुर आलम अन्सारीले बताए । सडक विभाग अन्तर्गतको वीरगंज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाले २०७८ पुस ५ मा अनुमानित पाँच करोडको टेन्डर आह्वान गरेकोमा सामा कन्स्ट्रक्शनले ठेक्का सकार गरी गत फागुन २५ गते साढे तीन महीनामा काम सम्पन्न गर्ने सम्झौता गरेको थियो तर उक्त ठेक्कामा आयोजना कार्यालयका कर्मचारी र सामा कन्स्ट्रक्शनबीच मिलेमतो भई एउटा ठेकेदार कम्पनीलाई मात्रै अनलाइन बिडिङमा सहभागी गराएको भनी अदालतमा ठेक्का खारेजीको मुद्दा परेको थियो ।
उक्त मुद्दा सगरमाथा इन्फ्राटेक प्रालिका दीपेशमान महर्जनले हालेका थिए । स्रोतका अनुसार महर्जन पप्पु कन्स्ट्रक्शनका सञ्चालक हरिनारायण रौनियारनिकटका व्यक्ति भएको र वीरगंजमा जसपाका नेता राजेशमान सिंह नगरप्रमुखमा जितेपछि अदालती मुद्दा टुङ्गो लगाउन अन्तरिक सहमति भएको थियो । महर्जनले तारेख छाडेपछि गत भदौ २३ मा मुद्दा तामेलीमा राखिएपछि काम गर्न ठेकेदारलाई बाटो खुलेको हो ।
नगरप्रमुख सिंहले सबैको प्रयासमा मितेरी पुल क्षेत्रको सडक निर्माणको काम भइरहेकोमा धन्यवाद दिएका छन् ।