प्रस, वीरगंज, २३ कात्तिक/

निर्वाचन आयोगले कात्तिक १८ गतेदेखि चुनाव प्रचारप्रसारको लागि जनसभा, आमसभा, भेला, सम्मेलन जस्ता कार्यहरू आचारसंहिताको पालना गरी गर्न निर्देश गरे पनि पर्सा जिल्लामा दलका र स्वतन्त्र उम्मेदवारहरूले भने अहिलेसम्म मतदाताहरूको घरदैलो कार्यक्रमलाई मात्र निरन्तरता दिइरहेका छन् ।

निषेध गरिएको बखत विभिन्न बहानामा सभा, भेला, सम्मेलन गरेका उम्मेदवारहरूले अहिले अवसर पाउँदा भने घरदैलोलाई नै प्राथमिकतामा राखेका  छन् । एकाध उम्मेदवारबाहेक सभा, सम्मेलन गरिएको छैन । यसपटकको चुनावमा दलका शीर्ष नेताहरू आएर आमसभा पनि गरेका छैनन् । नेपाली काङ्ग्रेसका नेता डा प्रकाशशरण महत  मात्र वीरगंजमा वाम लोकतान्त्रिक गठबन्धनको अनुगमन गर्न आएर पत्रकार सम्मेलन गरेर फर्किए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पर्सागढीमा पुगेर घरदैलो र कोणसभा गरेर फर्के । यी दुईजनाबाहेक अहिलेसम्म केन्द्रीयस्तरका नेताहरू आएका छैनन् । स्थानीय तहका नेताहरू आआफ्नो निर्वाचन क्षेत्रमा रुमलिएका छन् ।

स्थानीय तहमा पनि विभिन्न राजनीतिक दलको ओहदामा बसेका नेताहरूले जिल्लाका अन्य क्षेत्रमा पुगेर सभा, सम्मेलन गर्न भ्याएका छैनन् र आफ्नै क्षेत्रमा घरदैलो गरेर मतदाता आकर्षित गरिरहेका छन् ।

यसैबीच, पर्सा क्षेत्र नं १ बाट वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लोसपाका लक्ष्मणलाल कर्ण र क्षेत्र नं १ (१)बाट प्रदेशसभा सदस्यका उम्मेदवार नेकाका रामनारायण कुर्मीले बुधवार वीरगंज महानगर–१६ नगवामा घरदैलो गरेका छन् । उनीहरूले आगामी सरकार पाँच दलीय गठबन्धनको हुने दाबी गर्दै मतदाताहरूलाई मतदान गर्न आग्रह गरे । क्षेत्रको विकासका लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू अन्य उम्मेदवारको तुलनामा मजबूत भएको भन्दै आफूहरूलाई मतदान गर्न आग्रह गरे ।

यसैगरी, वाम लोकतान्त्रिक गठबन्धनबाट पर्सा क्ष्Fेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकाका अजयकुमार चौरसिया र सोही क्षेत्रको (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार नेकाका श्याम पटेलले वीरगंज महानगर–२९ को मुसहरीटोला र पर्सागढी नपा–१ को भटनीटोलामा बुधवार घरदैलो गरेका छन् ।

यसैगरी, पर्सा क्षेत्र नं १ बाट एमाले–जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जसपाका प्रदीप यादव र सोही क्षेत्रको २ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लालबाबू राउत गद्दीले बुधवार वीरगंज महानगर–११ श्रीपुरमा घरदैलो गरेका छन् । यादव मनोनयनपत्र दर्ता गर्दासम्म वन तथा वातावरणमन्त्री थिए भने गद्दी अहिलेसम्म बहालवाला मधेस प्रदेशका मुख्यमन्त्री हुन् । दुवैजना आफ्नो क्षेत्रका मतदाता रिझाउनमा यति विघ्न व्यस्त छन् कि बिहान, दिउँसो, साँझ, राति घरदैलो गरिरहेका छन् ।

आज श्रीपुरमा मतदातासँगको भेटघाटमा प्रतिनिधिसभा सदस्य उम्मेदवार यादवले विकास र जनताको सेवा नै आफ्नो मूल मुद्दा विगतमा पनि रहेको र आगामी दिनमा पनि रहने बताए । उनले पाँच वर्षको कार्यकालमा आफूले यिनै दुईवटा मुद्दामा ध्यान केन्द्रित गरी जनतामाझ रहेको र फेरि अवसर पाए यिनै मुद्दाका साथ अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे ।

मतदातासँगको कुराकानीमा उम्मेदवार यादवले मधेस र मधेसका जनताको पहिचान, अधिकार र आत्मसम्मान जसपाकै कारण प्राप्त भएको ठोकुवा गर्दै नागरिकतालगायत केही मुद्दा अझै सम्बोधन हुन बाँकी रहेको र ती पूरा गराउन फेरि जसपाले अवसर पाउनुपर्ने बताए ।

यसैगरी, यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले वीरगंज–१३ राधेमाईमा घरदैलो गरेका छन् । उनले यसपटकको निर्वाचनमा आफूलाई विजयी बनाउन आग्रह गरे ।

यसैगरी, वाम लोकतान्त्रिक गठबन्धनबाट पर्सा क्षेत्र नं २ (२)बाट प्रदेशसभा सदस्यका उम्मेदवार रमेश कुर्मीले वीरगंज महानगर–३ र २५ मा कार्यकर्ता भेला गरेका छन् ।

बुधवार आयोजित कार्यकर्ता भेलामा उनले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

वाम लोकतान्त्रिक गठबन्धनको नेतृत्वमैं आगामी सरकार बन्न गइरहेको भन्दै उनले गठबन्धनका उम्मेदवारलाई मतदान गराउने वातावरण बनाउन आग्रह गरे ।

यसैगरी, आज एमाले–जसपा गठबन्धनबाट पर्सा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार जसपाका सुरेन्द्र कुर्मी र क्षेत्र नं २ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार एमालेका हरेराम पटेलले वीरगंज महानगर–१ र ३ छपकैयामा घरदैलो गरेका छन् । कुर्मी र पटेलले गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग आग्रह गरे ।

यसैगरी, यही क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार रूपेशमान सिंहले आज वीरगंज महानगर–१९ विन्ध्यवासिनीमा घरदैलो गरेका छन् । विन्ध्यवासिनी, केहुनिया, र दलितबस्तीमा घरदैलो गर्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको आफूलाई विजयी बनाउन आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here