डोटी/बझाङ, २३ कात्तिक/रासस
डोटी केन्द्रबिन्दु भएर मङ्गलवार मध्यराति गएको भूकम्पले घर भत्कँदा छजनाको मृत्यु भएको छ भने अरू पाँचजना घाइते भएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गलवार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनFैं घर भत्किएका छन् ।
डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केही घर भत्किंदा घरमा च्यापिएर छजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए ।
मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए ।
भूकम्पमा परी पाँचजना घाइते भएका र उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । स्थानीय शिक्षक मीनराज ओझाका अनुसार अधिकांश घरमा क्षति पुगेको छ ।
भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिए ।
यस अघि पनि राति ९ः७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटकपटक झट्का महसूस भएको थियो । भूकम्पको झट्का कैलाली र कञ्चनपुरमा समेत महसूस भएको थियो ।
यता बझाङमा पनि भूकम्पको धक्कापछि स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन् । मध्यराति २ बजे गहिरो निद्रामा रहेका बेला एक्कासि भागाभाग भएको खप्तडछान्ना गाउँपालिका बझाड्ढा स्थानीयले बताए । खप्तडछान्ना– ५ की लक्ष्मीदेवी जोशीले गाउँभरिका मानिस आगो बालेर बाहिर बसेका बताइन् ।
उनका अनुसार पुराना घरहरू भत्किएका छन् भन्ने खबर छ । राति हुनाले केही जानकारी आउन सकेको छैन । जिल्ला सदरमुकाम चैनपुर बझाङमा पनि कैयौं मानिस सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कूलको चौरमा भेला भएका छन् । पछिल्लो केही समय यता सुदूरपश्चिममा पटकपटक भूकम्पको धक्का महसूस भइरहेको छ ।