माधव तिमल्सिना, ठोरी, १९ कात्तिक/

पर्साको पश्चिमी गाउँपालिका   ठोरीमा यस वर्षदेखि स्नातक तहको अध्ययन शुरू हुने भएको छ । जिल्लाका १० वटा गाउँँपालिकामध्ये पहिलोपटक ठोरीमा स्नातक तहको अध्ययन शुरू हुन लागेको हो ।

एक दशकअघिदेखि स्नातक तह अध्ययनका लागि पहल गरेको भएपनि यस वर्षदेखि त्रिभुवन विश्वविद्यालयले कक्षा सञ्चालन गर्न सम्बन्धन प्रदान गरेपछि ठोरी गापाको विजयबस्तीमा कक्षा सञ्चालनको तयारी भइरहेको छ । त्रिभुवन विश्वविद्यालयले आङ्गिक र सम्बन्धनप्राप्त सबै शैक्षिक संस्थालाई आउँदो मङ्सिर १८ गतेदेखि स्नातक तहको अध्यापन शुरू गर्न निर्देशन दिएकोले सोही अनुसार कक्षा सञ्चालन गर्न लागिएको विजयबस्ती क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।

विजयबस्ती क्याम्पसको आफ्नै भवन नभएकोले तत्कालका लागि माध्यमिक विद्यालय विजयबस्तीमा नै कक्षा सञ्चालन गर्ने तयारी गरिएको उनले बताए ।

 “क्याम्पसको स्वामित्वमा भवनलगायतको भौतिक पूर्वाधारको व्यवस्था नभएसम्मका लागि तत्काल विद्यालय समयभन्दा अगावै माध्यमिक विद्यालय विजयबस्तीमा नै विजयबस्ती क्याम्पसको कक्षा सञ्चालन हुनेछ,” विजयबस्ती क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले भने, “बिहान वा बेलुका कक्षा सञ्चालन गर्ने तयारी छ, सम्भवतः बिहान नै हुन्छ होला ।”

एकैपटक सबै सङ्कायको पठनपाठन गराउन प्राविधिक र जनशक्ति व्यवस्थापनको दृष्टिकोणले कठिन भएकोले यस वर्ष शिक्षाशास्त्र सङ्काय अन्तर्गत मुख्य विषय नेपाली, अङ्ग्रेजी, स्वास्थ्य र जनसङ््ख्या विषयको लागि कक्षा सञ्चालन गर्न लागिएको क्याम्पस प्रशासनले जनाएको छ । त्रिभुवन विश्वविद्यालयले समेत यस वर्ष शिक्षाशास्त्र सङ्कायको मात्र कक्षा सञ्चालन गर्न सम्बन्धन दिएको व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

हुलाकी सडक निर्माण हुनुअगाडिसम्म जिल्लाकै विकट मानिने ठोरीमा शुरू हुन लागेको स्नातक तहको कक्षामा विद्यार्थीको भर्ना र खर्च व्यवस्थापनको विषयलाई लिएर चिन्ता र चासो बढ्न थालेको क्याम्पस स्थापनामा सक्रिय अगुवाहरूको चिन्ता छ । करीब एक दशक क्याम्पसको सम्बन्धन लिने प्रक्रियामा नै अल्झिनुपरेको र अब सञ्चालनको विषयमा सरोकारवालाहरूसँग निरन्तर छलफल चलिरहेको क्याम्पस स्थापनाका लागि सुरुआतदेखि नै क्रियाशील अभियन्ता सन्तोष श्रेष्ठले बताए ।

विद्यार्थीबाट लिइने शुल्क र स्थानीय सरकारसँग समन्वय गरेर आर्थिक व्यवस्थापन गर्ने लक्ष्य लिइएको श्रेष्ठको भनाइ छ । उनले क्याम्पस सञ्चालनका लागि २०६९ देखि त्रिविसँग सम्बन्धनका लागि थालेको प्रयास र प्रक्रिया विविध कारणले एक दशकपश्चात् पूरा भएको बताउँदै ठोरीको शैक्षिक इतिहासमा नै महŒव राख्ने स्नातक तहको पढाइ सबै पक्षको सहयोगका कारण यस वर्षदेखि निरन्तर जारी रहने बताए ।

कक्षा सञ्चालनका लागि वार्षिक करीब २०/२१ लाख रुपैयाँ खर्च हुने अनुमान क्याम्पस प्रशासनले गरेको छ । मुख्यतः प्राध्यापक व्यवस्थापन र तलबभत्ता शीर्षकमा सबैभन्दा धेरै खर्च हुने क्याम्पस प्रमुख गोपीलाल श्रेष्ठले जानकारी दिए । तत्कालका लागि आन्तरिक आम्दानी नै क्याम्पस सञ्चालनको आधार भएको उनको भनाइ छ । हाल विद्यार्थी भर्ना गर्न रु पाँच हजार र मासिक रु डेढ हजार शुल्क कायम गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।

ठोरीका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत योग्यता पुगेका शिक्षकहरूले पठनपाठन गराउने गरी जनशक्ति व्यवस्थापन गर्न लागिएको छ । सम्भव भएसम्म स्थानीय जनशक्तिमार्फत पठनपाठन गराउने गरी कक्षा सञ्चालनको तयारी गरिएको क्याम्पस प्रमुख श्रेष्ठले बताए । भर्ना हुनका लागि विद्यार्थीहरूले फोनमार्फत सम्पर्क गरिरहेकाले यस वर्ष ५० जनासम्म विद्यार्थी भर्ना हुने क्याम्पस प्रशासनको अनुमान छ ।

क्याम्पस सञ्चालनमा मुख्य सहयोग भने ठोरी गापाले गरेको छ । यस वर्ष क्याम्पस सञ्चालनका लागि तत्काल आवश्यक डेस्क, बेन्च, टेबल, दराजलगायत फर्निचरका सामग्रीहरू गापा कार्यालयले नै उपलब्ध गराउने र आगामी वर्षदेखि क्याम्पसका लागि बजेट विनियोजन गर्नेगरी गापा अध्यक्ष लालबहादुर श्रेष्ठले सहयोग गरेको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले बताए । ठोरी गापा अध्यक्ष श्रेष्ठको सहयोगका कारण पनि यस वर्ष कक्षा सञ्चालन गर्न सहज भएको उनको भनाइ छ ।

ग्रामीण क्षेत्रमा रहेर उच्च शिक्षा प्राप्त गर्ने अवसरबाट वञ्चित र ठोरी, जीराभवानीलगायतका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई उच्च शिक्षा प्रदान गर्न क्याम्पस स्थापनाको प्रमुख उद्देश्य रहेको क्याम्पस व्यवस्थापन समितिले जनाएको छ ।

हाल ठोरीमा मात्र पाँचवटा कक्षा १२ सम्म सञ्चालित सामुदायिक विद्यालय छन् । वर्सेनि यी विद्यालयहरूबाट १२ कक्षा उत्तीर्ण हुने कतिपय विद्यार्थीहरू आर्थिक अभावकै कारण उच्च शिक्षा हासिल गर्न नसकेर पढाइ छाड्ने गरेका छन् । १२ कक्षासम्म ठोरी गापाले निश्शुल्क पठनपाठनको व्यवस्था गरेको भएपनि त्यसपछि आर्थिक अभावले उच्च शिक्षा पढ्न नसक्ने विद्यार्थीको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा विजयबस्ती क्याम्पसले ठूलो योगदान गर्ने यस क्षेत्रका अगुवाहरूको विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here