प्रस, परवानीपुर, १९ कात्तिक/
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सञ्चारमाध्यमको भूमिकासम्बन्धी अन्तक्र्रिया कार्यक्रम वीरगंजमा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय, पर्साको आयोजना तथा नेपाल पत्रकार महासङ्घ, पर्साको सहजीकरणमा सम्पन्न अन्तक्र्रियामा आगामी निर्वाचनलाई सञ्चारमाध्यमले पूर्णरूपमा ग्रहण गर्नुपर्ने तथा निर्वाचन आचारसंहिता अन्तर्गत सूचना सम्प्रेषण गर्नुपर्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयकी प्रमुख रञ्जीता झाले निर्वाचनमा सञ्चारकर्मीले पालना गर्नुपर्ने आचारसंहिताबारेमा अवगत गराउँदै राजनीतिक दलहरूलाई लाग्ने आचारसंहिताका बारेमा समेटिएको कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले आगामी निर्वाचनमा सञ्चारकर्मीहरूले मतदानअघि, मतदानको समय तथा मतदानपछिको सूचना सम्प्रेषण गर्न अपनाउनुपर्ने आचारसंहिता एवं सुरक्षाका उपायबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा उनले सञ्चारकर्मी समाजले विश्वास गर्ने पात्र भएकाले जनभावना अनुकूल तथा आचारसंहिताभित्र रही समाचार सम्प्रेषण गरी आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए ।
अध्यक्ष तिवारीले कानूनको दायरामा रही आचारसंहिताको पालना गर्दै सही समाचार पस्किन र गलत क्रियाकलापको भण्डाफोर गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे । चुनावी प्रचारप्रसारमा दलहरूले निर्वाचन आचारसंहिताविरुद्ध क्रियाकलाप गरे सोको विरुद्धमा निर्धक्क कलम चलाउन उनले आग्रह गरे । निर्वाचन भयरहित वातावरणमा भइरहेको छ वा छैन भन्ने विषयमा समेत सञ्चारकर्मी चनाखो हुनुपर्ने सुझाव दिए ।
पर्साका निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले आचारसंहिता विपरीत गतिविधि भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न वा सञ्चारमाध्यमबाट उजागर गर्न आग्रह गरे । उनले आचारसंहिताविपरीतको कार्यमा आफूले तत्काल प्रतिक्रिया जनाउने बताए । उनले प्रधानमन्त्रीसमेतले आचारसंहिताको पालना गर्दै निर्वाचनमा भाग लिनुपर्ने जिकिर गरे ।
उनले मतदान स्थल तथा मतगणना स्थलमा सूचना सम्प्रेषणको लागि सञ्चारकर्मीको अधिकार कुण्ठित नहुने गरी उचित व्यवस्थापन मिलाइने प्रतिबद्धता व्यक्त गरे ।