• उमाशङ्कर द्विवेदी

धृतराष्ट्रले सोधे– सञ्जय, आधी रातको समय कर्ण र घटोत्कचबीच भिडन्त भएपछि ती दुवैबीच कुन प्रकारले युद्ध भयो ? त्यस राक्षसको रूप कस्तो थियो ? उसका रथ, घोडा र अस्त्रशस्त्रहरू कस्ता थिए ?

सञ्जयले भने– घटोत्कचको जीउडाल अजङ्गको थियो । उसको अनुहार तामा जस्तो र आँखा राता रङ्गका थिए । भुँडी भित्र धसेको, शिरको कपाल मास्तिर जिङरिङ भई उठेका, दा¥ही–जुङ्गा काला, कान काठे किल्ला जस्तो, च्यापु ठूलो, मुखको प्वाल कानसम्म फैलिएको थियो । ढाड तीखो र विकराल थियो । जिब्रो र ओठ तामा जस्तो रङ्गको र लामो थियो । ठूलठूला आखीभौं, चेप्टो नाक, शरीरको रङ्ग कालो, घाँटी रातो र शरीर पहाड जस्तो भयङ्कर र विशाल थियो । बाहु विशाल थियो, मस्तकको घेरा ठूलो थियो । उसको आकृति बेडौल र शरीरको छाला चाम्रो थियो । शिरको माथिल्लो भाग केवल बढेको मासको पिण्ड थियो, त्यसमाथि कपाल उम्रेको थिएन । उसको नाइटो छिप्पिएको थियो र नितम्बको भाग मोटो थियो । भुजाहरूमा बाहुमा लगाइने गहना शोभा पाउँदै थिए । मस्तकमाथि सुनको टल्किंदो मुकुट, कानमा कुण्डल र गलामा स्वर्णमयी माला थियो । उसले कांसको कवच धारण गरेको थियो । उसको रथ पनि औधी ठूलो थियो । त्यसमाथि रीछको छाला मढिएको थियो, उसको रथको लम्बाइ र चौडाइ चार सय हातको थियो । सबै प्रकारका आयुधहरू त्यसमाथि राखिएका थिए । त्यसको टुप्पोमाथि ध्वजा फरफराउँदो थियो । आठवटा पाङ्ग्राबाट त्यो रथ गुड्थ्यो, त्यसको घरघराहट मेघको गम्भीर गर्जनालाई पनि मात गथ्र्यो । त्यस रथमा जोतिएका घोडाहरू बडो भयङ्कर, इच्छानुसार रूप परिवर्तन गर्न सक्ने खालका तथा अत्यन्त वेगवान् थिए । विरुपाक्ष नामक राक्षस त्यस रथको सारथि थियो, जसको मुख र कुण्डल दीप्तिमान् थियो । त्यो विकट सारथिले घोडाको बागडोर समातेर तिनीहरूलाई काबूमा राख्थ्यो ।

यस्तो रथमाथि सवार घटोत्कचलाई आफूतिर आइरहेको हेरेर कर्णले बडो अभिमानको साथ अगि बढी त्यसलाई रोके, अनि त दुवैले अत्यन्त वेगशाली धनुष लिएर एकअर्कालाई घाइते पार्दै बाणबाट आच्छादित पारे । दुवैले एकअर्कालाई आफ्नो शक्ति र सायकहरूबाट घाइते पार्न थाले । त्यो रात्रियुद्ध यतिबेरसम्म चलिरह्यो मानांै एक वर्ष बितिसकेको होस् । यतिकैमा कर्णले दिव्यास्त्रलाई प्रकट गरे । यो हेरेर घटोत्कचले राक्षसी मायाको विस्तार ग¥यो । त्यति बेला राक्षसहरूको ठूलो डफ्फा सेना प्रकट भयो, कसैको हातमा शूल थियो त कसैको हातमा मुग्दर । कसैले शिलाको चट्टान उचालेको थियो त कसैले विशाल वृक्ष । त्यस सेनाबाट घेरिएको घटोत्कच महान् धनुष लिएर अगि बढेको हेरेपछि सम्पूर्ण नरेश व्यथित हुन पुगे । यसैबेला घटोत्कचले भीषण सिंहनाद ग¥यो, त्यस आवाजलाई सुनेर हात्तीहरू आत्तिएर मूत्र त्याग गर्न थाले । मानिसहरूलाई त झन् बडो व्यथा भयो । तदन्तर चारैतिरबाट ढुङ्गाको भयङ्कर वर्षा हुन थाल्यो । अद्र्धरात्रिको समय राक्षसहरूको बल झन् उर्लिएर आएको थियो । उनीहरूले हानेका फलामे चक्र, भुसुण्डी, शक्ति, तोमर, शूल, शतघ्नी र पट्टिश आदि अस्त्रशस्त्रहरूको वर्षा भइरहेको थियो । महाराज, त्यस अत्यन्त उग्र र भयङ्कर युद्धलाई हेरेर तपाईंका पुत्र र सैनिक व्यथित भएर रणभूमिबाट भाग्न थाले । केवल अभिमानी कर्ण मात्र त्यहाँ डटिरहे, उनलाई कतिको पनि व्यथा भएन । उनले आफ्नो बाणबाट घटोत्कचले रचना गरेको राक्षसी मायाको संहार गरिदिए ।

आफूले रचना गरेको राक्षसी मायाको संहार भएको हेरेर घटोत्कच बडो अमर्षमा भरिएर बाणहरूको प्रहार गर्न थाल्यो । ती बाणहरू कर्णको शरीरलाई छेडेर पृथ्वीमा छिरे । अनि कर्णले दशवटा बाण घटोत्कचमाथि हाने । ती बाणहरूबाट घटोत्कचको मर्मस्थानमा गहिरो चोट लाग्यो, ऊ कुपित भएर एक दिव्य चक्र हातमा उचाली कर्णमाथि हान्यो, तर कर्णको बाणबाट त्यो दिव्य चक्र टुक्रा–टुक्रा भएर नष्ट हुन पुग्यो । अब त घटोत्कचको रिसको सीमा नै रहेन, उसले बाणवर्षा गरेर कर्णलाई ढाकिदियो ।

क्रमशः …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here