ओमप्रकाश चौधरी, सेढवा, १७ कात्तिक/

पर्सा राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयको जङ्गलमा जङ्गली जनावरको सङ्ख्या बढेपछि वनविनाशको गतिविधिमा कमी आएको छ ।

गाई, भैंसी, बाख्रा चराउन जङ्गलमा लैजाँदा बाघले एक सातामा चारवटा भैंसीमाथि आक्रमण गरी घाइते बनाएपछि जङ्गलमा गोठालो लैजाने कार्य बन्द प्रायः भएको छ । जीराभवानी गाउँपालिका अन्तर्गत शान्तिनगर, काठमाडौंटोल, वसन्तपुर, हरैया सखुवनिया, शङ्करसरैयालगायत गाउँबाट चरिचरणका लागि वस्तुभाउ जङ्गलमा लग्ने कार्य पूर्णरूपमा बन्द भएको छ । जसका कारण ससाना बोटबिरुवा तथा लाथ्राहरू मासिनबाट जोगिएका छन् । जङ्गलमा बोटबिरुवा तथा झ्याङ वृद्धि भएको छ भने जङ्गली जनावरको त्रासका कारण स्याउला काट्ने, दाउरा ल्याउने कार्यसमेत बन्द भएकाले जङ्गल फँडानी रोकिएको छ । राति हरियो रूख काट्ने र तस्करी हुने कार्य पनि बन्द भएको छ ।

डिभिजन वन कार्यालय, पर्साका सहायक वन अधिकृत फरमान मियाँले जङ्गलमा जनावरको सङ्ख्या वृद्धि भएपछि जनावरको बासस्थानका लागि विगत तीन वर्षमा २५० हेक्टर जमीनमा वृक्षारोपण गरी पुनः जङ्गल निर्माण गरिएको बताए । जङ्गलभित्र फँडानी भई नाङ्गो गौचरणको रूपमा प्रयोग भएको खाली जमीनमा वृक्षारोपण गरी जङ्गल निर्माण गरिएको र सोही ठाउँलाई जनावरहरूले बासस्थानको रूपमा प्रयोग गरिरहेको उनले बताए ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले निकुञ्जमा जनावरको सङ्ख्या वृद्धि भएको बताए । निकुञ्जमा बाघ ४१, हात्ती ६५, गैंडा पाँच, नीलगाईको सङ्ख्या १०५ पुगेको अधिकृत रामले बताए । यसका साथै चित्तल, हरिण, बँदेललगायत जङ्गली जनावरको सङ्ख्यामा वृद्धि भएको अधिकृत रामले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here