चिरञ्जीवी सापकोटा, ठोरी, १७ कात्तिक/
ठोरी गाउँपालिका–३ ब्रह्मनगरमा ब्रह्मज्योति स्पोट्र्स क्लबको आयोजनामा जारी ब्रह्मज्योति नकआउट फूटबल प्रतियोगिताको शुक्रवार फाइनल खेल सम्पन्न हुन गइरहेको छ ।
८/१० वर्षअगाडि फूटबल प्रतियोगिता आयोजना गरेको ब्रह्मज्योति स्पोट्र्स क्लबले लामो समयपछि नकआउट फूटबल प्रतियोगिताको आयोजना गरेको हो । यो प्रतियोगितामा पर्सा, बारा, रौतहटका गरी २० वटा टीम सहभागी छन् । प्रतियोगिताका विजेतालाई रु एक लाख पाँच हजार, उपविजेतालाई ५३ हजार, शिल्ड, प्रमाणपत्रको व्यवस्था छ ।
शुक्रवार फाइनलमा शिकारीवास ठोरीको अगम युवा फूटबल क्लब र ठोरीकै निर्मल समाज युवा क्लब भिड्दैछन् । दुवै टीम यो प्रतियोगिताको सशक्त टीम हुन् र दुवै टीममा बाह्य खेलाडीहरूको बाहुल्यता छ । शिकारीवासको अगम युवा क्लबबाट मधेस प्रदेशमैं नाम कहलिएका कृपा चौधरी, लक्ष्मण चौधरीलगायत संलग्न छन् । यो क्लबको नाम मात्र शिकारीवास हो, खेलाडीहरू भने सबै प्रदेश र राष्ट्रिय स्तरका छन् ।
यसैगरी, निर्मल समाजबाट पनि स्थानीय खेलाडीभन्दा चितवनका खेलाडीहरूको बाहुल्यता छ । समीर थापामगर, रितिश क्षत्री, विशेष तामाङ, अश्विन घिमिरे, सुमन चौधरीलगायतका खेलाडीहरू बाह्य हुन् । उनीहरूको खेल पनि निकै उत्कृष्ट छ । दुवै टीमले फाइनल जित्ने दाबी गरेका छन् । बाह्य खेलाडीको बाहुल्यता भएको कारण निर्मल समाजले प्रतियोगिता जित्ने दाबी गरेको छ ।
यसैगरी, नाम चलेका खेलाडीहरू भएका कारण र उत्कृष्ट खेल प्रदर्शनका कारण अगम युवा क्लबले पनि आफ्नो जीतको दाबेदारी गरेको छ ।
चाँदीको जुत्ताको दाबेदार
प्रतियोगिताको फाइनलमा सबैभन्दा बढी गोलकर्तालाई चाँदीको जुत्ता दिने आयोजकले घोषणा गरेको छ । यसका लागि अगम युवा क्लबका कृपा चौधरी र निर्मल समाजका विशेष तामाङ तथा रितिश क्षत्रीको नाम चर्चामा छ । यिनीहरूले अहिलेसम्म प्रतियोगितामा सबैभन्दा बढी गोल गरेका छन् । फाइनलमा यीमध्ये गोल सङ्ख्या बढाउनेले चाँदीको जुत्ता पाउनेछ ।