प्रस, वीरगंज, १६ कात्तिक/

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजीकिंदै जाँदा चुनाव प्रचार अभियान पनि तीव्र भएको छ । हिन्दूहरूको महान् पर्व दशैं, तिहार, छठ सकिएपछि राजनीतिक दलहरू र तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरू चुनाव प्रचारप्रसारमा सक्रिय भएका हुन् ।

निर्वाचन आयोगले कात्तिक १७ देखि मङ्सिर १ गतेसम्म निर्वाचनको प्रचारप्रसारका लागि जनसभा, कोणसभालगायत गर्न निर्देश गरे अनुसार आज अन्तिम दिन पनि घरदैलो कार्यक्रमले निरन्तरता पाएको छ । अहिलेसम्म कुनै पनि राजनीतिक दलहरूले पर्सामा आमसभाको घोषणा गरेका छैनन् । ठूला नेताहरू पनि अहिलेसम्म पर्सा जिल्लामा चुनाव प्रचारको लागि दौडाहामा आएका छैनन् । स्थानीय नेता, कार्यकर्ताहरू मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् ।

यसै क्रममा पर्सा क्षेत्र नं १ बाट जसपा–एमाले गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादव, क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार विचारी यादव, २ का लालबाबूराउत गद्दीले घरदैलो कार्यक्रम गरी मत मागेका छन् ।

वीरगंज महानगर–८ पानीटङ्की र वडा नं ३० लालपर्सामा पुगेर उनीहरूले मतदाताहरूसँग मत मागेका थिए । प्रतिनिधिसभा सदस्यका उम्मेदवार यादवले आफ्नो पाँच वर्षे कार्यकालमा गरेका काम जनतासामु छर्लङ्ग रहेको र सोहीको आधारमा मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार विचारी यादव, लालबाबू राउत गद्दी, डा विश्वम्भर शर्मा, नेक महम्मद मियाँलगायतको सहभागिता थियो ।

पर्सा क्षेत्र नं १ मा सत्तारूढ गठबन्धनबाट लोसपाका उम्मेदवार लक्ष्मणलाल कर्णले वडा नं ११, १३ मा घरदैलो गरेका छन् । उनले सो अवसरमा मतदाताहरूसँग संविधानको रक्ष्Fा गर्न सत्तारूढ गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरे । कार्यक्रममा नेजामुद्दीन समानी, हुकुम सिंहलगायतको सहभागिता थियो ।

यसैगरी, यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीले पनि घरदैलो गरेका छन् । वडा नं ४ मा मङ्गलवार साँझ घरदैलो गर्दै माछा छापमा मतदान गरी निर्वाचित गराउन आग्रह गरे ।

यसैगरी, महानगरको वडा नं १५ मा समाजवादी महिला सङ्घ मधेस प्रदेशकी उपाध्यक्ष पिङ्की यादवको अगुवाइमा महिलाहरूले जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारलाई विजयी बनाउन मत मागेका थिए ।

सो अवसरमा महिला नेत्रीहरूले जसपाका कारण मधेसी, दलित, मुस्लिमले आफ्नो पहिचान पाएको र उनीहरूको अधिकारको लागि जसपाले लड्दै आएको र लड्ने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा अन्नपूर्ण श्रेष्ठ, प्रेरणा श्रेष्ठ, पिङ्की सिंहलगायतको सहभागिता थियो ।

त्यसैगरी, हाम्रो नेपाली पार्टीबाट पर्सा क्षेत्र नं १ (२) बाट प्रदेशसभाका उम्मेदवार ओमप्रकाश सर्राफले वडा नं ८ पानीटङ्की क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् । उनले आफ्नो चुनाव चिह्न लौरोमा मतदान गरी विजयी बनाउन आग्रह गरे । जनताको मतबाट विजयी भएपछि आफूले जनहितमा काम गर्ने र सो नगरेको खण्डमा जनताले दिने सजाय भोग्न तयार रहेको उद्घोष गरे । कार्यक्रममा हाम्रो नेपाली पार्टीकी समानुपातिक उम्मेदवार गुड्डी जोशीलगायतको सहभागिता थियो ।

यसैगरी, पर्सा क्षेत्र नं २ (२) बाट स्वतन्त्र उम्मेदवार रूपेशमान सिंहले वीरगंज महानगर–३ मा घरदैलो गरेका छन् । सो अवसरमा उनले आफ्नो लालटेन छापमा मतदान गर्न आग्रह गरे । जनतालाई विभिन्नखाले सपना बाँडेर चुनाव जित्ने तर जनआकाङ्क्षा अनुरूप काम नगर्नेहरूलाई पाखा लगाउन उनले आग्रह गरे ।

यसैगरी, पर्सा क्षेत्र नं २ (२) बाट सत्तारूढ गठबन्धनबाट प्रदेशसभा सदस्यमा लोसपाका उम्मेदवार रमेश कुर्मीले बहुदरमाई नगरपालिका–२ पिपरामा चुनावलक्षित चियामा चर्चा कार्यक्रम सम्पन्न गरेका छन् ।

उनले सो अवसरमा विगतका चुनाव जस्तो रक्सी, मासु, पेट्रोल, पैसा र कसैको पनि दबाबमा आएर वा प्रलोभनमा परी मतदान नगर्न आग्रह गरे । उनले विकासको गतिलाई अगाडि बढाउने उम्मेदवारलाई जिताउन आग्रह गरे । उम्मेदवार कुर्मीले आफूले यसअघि गरेका कार्यको मूल्याङ्कन गरेर चुनावमा जिताउन मतदातासँग आग्रह गरे ।

सो अवसरमा वडाध्यक्ष् जीतेन्द्र पटेल, जुगुल पटेल, लालबाबू प्रसाद, मौलाना सागिरलगायतको सहभागिता थियो ।

बलिराम शुक्ला, बिरुवागुठी/

लोकतान्त्रिक वाम गठबन्धनबाट पर्सा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजय चौरसिया र प्रदेशसभा (१) का उम्मेदवार श्यामप्रसाद पटेलले बुधवार पर्सागढी नगरपालिका–३ मा घरदैलो तथा भेटघाट कार्यक्रम गरेका छन् ।

कार्यक्रममा मतदाताहरूले उम्मेदवार चौरसिया र पटेललाई फूलमाला लगाइ स्वागत गरेका थिए ।

कार्यक्रममा नेकाका राजेश्वरप्रसाद यादव, विनोद ठाकुर, महिला नेत्री किरण सरकार, कोपिला चौरसियालगायतको सहभागिता थियो ।

प्रस, पोखरिया/

पोखरिया नगरपालिका–९ शिबर्वामा सत्तारूढ गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नेकाका सुरेन्द्रप्रसाद चौधरी  र प्रदेशसभा सदस्यमा क्षेत्र नं ३ (२) बाट नेकाकै उम्मेदवार जनार्दनसिंह  क्षत्रीले संयुक्त घरदैलो कार्यक्रम गरेका छन् ।

सो अवसरमा उम्मेदवारद्वय चौधरी र क्षत्रीले सत्तारूढ गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर विजयी बनाउन आग्रह गरे । उनीहरूले प्रतिगमन रोक्नको लागि गठबन्धन बनेको र गठबन्धनले नै आगामी सरकार बनाउने दाबी गर्दै गठबन्धनका उम्मेदवारलाई मतदान गर्न सुझाए ।

यसैगरी, सत्तारूढ गठबन्धनबाट क्षेत्र नं ४ मा नेकाका उम्मेदवार रमेश रिजालले बुधवार छिपहरमाई गाउँपालिका–१ भलुवाही र ४ को तुलसीबर्वामा घरदैलो गरेका छन् ।

रिजालले घरदैलो कार्यक्रममा मधेस र देशको समृद्धिका लागि सत्तारूढ गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले एमालेको दुई तिहाइ बहुमतको सरकार भएपनि तीन वर्ष नटिकेको र दुईपटक एमाले अध्यक्ष ओलीले संविधान मिचेर संसद् विघटन गरेको भन्दै अबका दिनमा पनि सो पार्टीलाई मत दिने हो भने लोकतन्त्र नै धरापमा पर्ने खतरा रहेको जिकिर गरे । उनले लोकतन्त्रको रक्षाको लागि र संविधान पालनाको दिशामा नेकासहितको गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरे । कार्यक्रममा गठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रकी शेख चाँदतारालगायत नेता, कार्यकर्ताहरूको सहभागिता थियो ।

यसैगरी, पर्सा क्षेत्र नं ३ (१)मा स्वतन्त्र उम्मेदवार चन्द्रकिशोरप्रसाद चौधरीले बुधवार पटेर्वासुगौली गापा देउरिया, मोरटोल निचुटा र मनिहर्वामा घरदैलो कार्यक्रम गरेका छन् । विभेद अन्त्य गरी सबैलाई समानरूपमा हकअधिकार सुनिश्चित गर्न आग्रह गर्दै उनले घरदैलो कार्यक्रम गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here