प्रस, वीरगंज, ६ कात्तिक/
पर्सामा प्रतिनिधिसभाका चारवटा क्षेत्र र प्रदेशसभाका आठवटा क्षेत्रमा मङ्सिर ४ गते हुने निर्वाचनलक्षित घरदैलो कार्यक्रम जारी छ ।
दल र स्वतन्त्र उम्मेदवारहरूले बिहान, दिउँसो, साँझ घरदैलो कार्यक्रम गर्दै आएका छन् । यसका अतिरिक्त अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश, सम्मानलगायतका कार्यक्रमहरूलाई निरन्तरता दिएका छन् । निर्वाचन आयोगले कात्तिक १८ गतेदेखि मात्र जनसभा, कोणसभालगायतका कार्यक्रमहरू गर्न र त्यसअघि घरदैलोबाहेकका कार्यक्रममा निषेध गरेको कारण दल र स्वतन्त्र उम्मेदवारहरू घरदैलो कार्यक्रमलाई अधिकतमरूपमा प्रयोग गरिरहेका छन् ।
उम्मेदवार, तिनका समर्थकहरू जहाँ चुनावी प्रचारमा व्यस्त छन्, त्यही जनता भने दीपावली र छठको तयारीमा छ । दीपावलीको पूर्वसन्ध्यामा उनीहरू घर लिपपोत, सरसफाइ, किनमेलमा व्यस्त छन् । यसपटक दीपावली सकिए लगत्तै छठ पर्व शुरू हुने भएकोले हिन्दू धर्मावलम्बीहरू दुवै पर्वको तयारीमा व्यस्त छन् । दीपावली र छठको व्यस्ततासँगै जनताले नेताहरूलाई पनि समय दिनुपरेको छ ।
यसै क्रममा पर्सा क्षेत्र नं १ को वीरगंज महानगरपालिका–१५ भिस्वा र १६ नगवामा जसपा–एमाले गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादवले रोड शो कार्यक्रमलाई निरन्तरता दिएका छन् । मुख्यमन्त्री लालबाबूराउत गद्दीसँगै उनले आज सो क्षेत्रमा जसपा–एमाले गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरे ।
प्रतिनिधिसभाका उम्मेदवार यादवले आफू सांसद हुँदा र सानो समयको लागि मन्त्री हुँदा पर्सा जिल्लाको विकासमा भ्याएसम्मको विकास गरेको दाबी गरे । उनले आफूलाई जिताए आगामी दिनमा बाँकी काम पनि पूरा गर्ने आश्वासन दिए । वर्तमान सत्तारूढ गठबन्धनले एकलौटीरूपमा शासन चलाएको र यसबाट गणतन्त्र र लोकतन्त्रलाई खतरा भएको भन्दै उनले जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
सत्तारूढ गठबन्धनबाट पर्सा क्षेत्र नं ३ मा प्रतिनिधिसभा उम्मेदवार सुरेन्द्रप्रसाद चौधरी र प्रदेशसभाका उम्मेदवार जनार्दनसिंह क्षत्रीले मुकेश चौरसियाको दोस्रो स्मृति दिवसमा सहभागी भएर चुनावी प्रचार गरेका छन् । कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार चौधरीले शहीद मुकेश चौरसियाको सपना साकार गर्न आफू सदैव तयार रहेको दाबी गरे । उनले चौरसिया गापाको सच्चा, कर्मठ पार्टीका सिपाही भएको दाबी गरे ।
कार्यक्रममा माओवादी केन्द्रकी नेत्री उर्मिला अर्याल, प्रदेशसभा उम्मेदवार क्षत्री, नेकपा (एकीकृत समाजवादी)का नागेन्द्र चौधरी, नेपाली काङ्ग्रेसका दीपनारायण रौनियार र माओवादी केन्द्रबाट सो क्षेत्रमा प्रदेशसभा सदस्यका उम्मेदवार छोटेलाल यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी पर्सागढी नगरपालिकाको बर्वाटाँडी, हरदासपुर, छौटैली, बकनेर्वा, परशुरामपुर, भेडाहा टोलमा पर्सा निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयकुमार चौरसिया र २ (क) प्रदेशसभा सदस्यका उम्मेदवार श्यामप्रसाद पटेलले घरदैलो कार्यक्रम गरेका छन् ।