प्रस, वीरगंज, ६ कात्तिक/

जिल्ला प्रहरी कार्यालय, बाराले ५० लाख मूल्य बराबरको खानेतेल चोरी र बिक्री वितरणमा संलग्न चारजनालाई पक्राउ गरेको जनाएको छ ।

असोज २८ गते परवानीपुर गाउँपालिका–५ स्थित मनोकामना आयल फूड प्रोसेसिङ प्रालिबाट प्रशोधित खानेतेल एक लिटरको १४ हजार ५६० किलोग्राम र आधा लिटरको पाउच पाँच हजार ९१५ किलोग्राम तेल प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको भाडाको ट्रकमा लोड गरी अञ्जनी कैरियर वीरगंजमार्फत सिन्धुली जिल्लास्थित रोबिन सप्लायर्स प्रा.लि., कमलामाईमा लग्नुपर्नेमा चालक नुवाकोट शिवपुरी गाउँपालिका वडा नं १ बस्ने सुकमान तामाङले सो ठाउँमा नलगेर बेपत्ता बनाएका थिए ।

प्रहरीले खोजतलाशको क्रममा कात्तिक ४ गते चालक तामाङलाई पक्राउ गरेको थियो भने कात्तिक ५ गते सिम्रौनगढ नगरपालिका वडा नं ६ स्थित सिम्रौनगढ बजारमा उक्त ट्रक बेवारिसे अवस्थामा फेला परेको जनाएको छ ।

रौतहट, गौर नगरपालिका वडा नं १ स्थित रमेश कुमारले भण्डारण गरी राखेको अवस्थामा चोरीको तेलमध्ये ३१७ कार्टुन तेल र १५९ वटा खाली कार्टुन बरामद भएको बारा प्रहरीले जनाएको छ । प्रहरीले यस कार्यमा संलग्न रहेको आरोपमा रमेश कुमार, शेख कलाम र बैधनाथ साह तेलीलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here