प्रस, वीरगंज, ५ कात्तिक/

बजारमा उपलब्ध आयातीत माछामध्ये ७० प्रतिशत तस्करीको माध्यमबाट आउने गरेको तथ्य फेला परेको छ । माछा तस्करी अचानक बढेको तथ्याङ्कले देखाएको छ ।

भन्सार छली माछा भित्रिरहेको र माछाको क्वारेन्टाइन पनि नभएको हुनाले राजस्व चुहावटसँगै जनस्वास्थ्यसँग पनि खेलवाड गर्ने कार्य भइरहेको जानकारहरू बताउँछन् ।

भारतबाट तस्करीको माध्यमबाट ठूलो परिमाणमा माछा नेपाली बजारमा आउन थालेपछि माछा विधिवत् भन्सार गरेर भिœयाउने आयातकर्ताहरूलाई भने मर्का परिरहेको छ । माछाको आयात वार्षिकरूपमा बढ्दो रहे पनि चालू आर्थिक वर्षमा भने घटेको छ । माछाको आयात बितेको आवको तुलनामा करीब ३० प्रतिशतले घटेको छ । करीब ७० प्रतिशत माछा अहिले तस्करीमार्फत आउन थालेकाले वैध आयात घटेको हो ।

आव २०७८/७९ मा एक हजार ६९३ टन विभिन्न जातका माछा नेपालले आयात गरेको भन्सारको तथ्याङ्कले देखाएको छ । यसबाट १६ करोड ५७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । तथ्याङ्क अनुसार गत वर्ष महीनाको औसत १४१.१४ टन माछा आयात भएको थियो भने यस आवमा महीनाको औसत ४२.५१ टन मात्र आयात भइरहेको छ । यो वर्ष साउन र भदौ दुई महीना गरी ८४.०२३ टन विभिन्न जातका माछा आयात भएको छ ।

माछा आयातकर्ता व्यापारी अजय साहले देशभित्रै माछाको उत्पादन बढेर आयात घटेको नभएर माछाको तस्करी बढेर घटेको बताए । उनले अवैध कार्यले वैध कार्य गर्ने माछा आयातकर्ताहरूलाई समस्या भएको बताए । उनले आयात घटेको छैन तर अवैध तरीकाबाट माछा आइरहेको र सोको रोकथाम गर्न नसकिएको कारण भन्सार राजस्व पनि प्रभावित भएको बताए । भारतबाट अवैधरूपमा आउने माछा रोक्नुपर्ने माग गर्दै चितवनको भरतपुरमा असोज ६ मा नेपाल मत्स्य व्यवसायी सङ्घको केन्द्रीय समितिले पत्रकार सम्मेलन गरेको थियो । फर्मालिन भनिने केमिकल हालिएको माछा भारतबाट दैनिक ५० टनभन्दा बढी नेपाल आउने गरेको सङ्घका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीको आरोप छ । उनले स्वास्थ्यको लागि घातक केमिकलको प्रयोग रोक्नुका साथै अवैध कारोबार रोकिनुपर्ने बताए ।

क्वारेन्टाइन परीक्षणविना भित्रिने माछा रासायनिक र जैविकरूपमा स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन् । वाग्मती प्रदेशमा प्रहरीले अवैध माछा नियन्त्रणको प्रयास गरेको पनि देखिन्छ । साउनयता तीन हजार ७० किलो माछा बरामद गरी विधि पु¥याएर नष्ट गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए । प्रतीतपत्र (एलसी)मा शतप्रतिशत रकम जम्मा गरेर मात्रै सामान आयात गर्नुपर्ने नेपाल राष्ट्र बैंकको प्रावधानले अवैधरूपमा विभिन्न वस्तुहरू भित्रिने क्रममा माछाको पनि तस्करी बढेको हो ।

अहिले बाकसमा माछा राखेर साइकलबाट सीमापारिका भारतीय बजारहरूबाट नेपाल ल्याउने क्रम बढेको छ । यसरी ल्याइने माछा एक स्थानमा भण्डारण गरी देशभरि पु¥याउने कार्य भइरहेको माछा कारोबारीहरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here