प्रस, सिम्रौनगढ, ५ कात्तिक/

बारा क्षेत्र नं १ (ख)बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सिम्रौनगढ नपा–११ कटहरियाका प्रभुदास तत्वा अन्य उम्मेदवारको तुलना पृथक छन् । उनीसँग कुनै पनि प्रकारको धनसम्पत्ति छैन । सम्पत्तिको नाममा चियापसल र भुजापसल मात्र छ । तत्वा दैनिकरूपमा बिहान र बेलुका बसपार्कको फूटपाथमा चिया बेच्छन् र बजारको दिन भुजा–पकौडी बिक्री गर्छन् । उनको दिनचर्या यसैगरी चलिरहेको थियो । तर मङ्सिर ४ गते हुने प्रदेशसभा सदस्यमा उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिनको लागि पनि उनीसँग पैसा थिएन । साथीभाइहरूले सहयोग गरेर उनको उम्मेदवारी खर्च जुटाइदिएका हुन् । यो क्षेत्रबाट मधेस प्रदेशका सभामुख सरोज यादव, नेपाली काङ्ग्रेसका नागेन्द्रप्रसाद साह, नेकपा (एकीकृत समाजवादी)का बतहुप्रसाद यादव र लोसपाका डा कमरुल्लाह प्रतिस्पर्धामा छन् । तत्वाको प्रचार शैली पनि भिन्न छ । चियापसलमैं उनी मानिसहरू जम्मा भएको बेलामा आफ्नो चुनावको प्रचार गर्छन् । घरदैलो गर्दा चियापसल बन्द गर्नुपर्ने र खानलाई अप्ठ्यारो पर्न सक्ने हुनाले चियापसल खुला राखेर चुनाव प्रचार गरिरहेका छन् ।

तत्वाले चुनाव चिह्न पनि केरा पाएका छन् । तर उनी मतदाताहरूलाई केरा खुवाउन सक्ने सामर्थ पनि राख्दैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here