• विश्वराज अधिकारी

भित्रबाट हेर्दा अमेरिका

अमेरिका देश बाहिर जस्तो देखिन्छ, देशभित्र त्यस्तो छैन । देशभित्र र बाहिर ज्यादै फरक छ । अमेरिकाले विश्वलाई नेतृत्व गर्न खोजेको हो तथा अमेरिका विश्वको नै सर्वाधिक शक्तिशाली राष्ट्र हो भन्ने कुरा बहुसङ्ख्यक अमेरिकीहरूलाई थाहासम्म पनि छैन । विश्वको जुनसुकै राष्ट्रमा हुने राजनीतिक घटनामा अमेरिका उपस्थित हुन पुग्ने र त्यहाँको राजनीतिलाई प्रभावित गर्ने कुरा ज्यादै कम अमरिकीहरूलाई थाहा छ । अन्य देशको राजनीतिमा अमेरिकाले चासो राख्नुपर्छ भन्ने बहुसङ्ख्यक अमेरिकीहरूको इच्छासमेत पनि रहेको पाइँदैन ।

अमेरिकाको विश्वराजनीतिमा कस्तो भूमिका हुनुपर्छ भन्ने कुरा मात्र १० देखि १५ प्रतिशत जति अमेरिकीले निर्धारण गरेजस्तो लाग्छ । अमेरिकाको विदेशनीति पनि त्यही प्रतिशत व्यक्तिहरूले गर्छन् । बहुसङ्ख्यक अमेरिकीहरूलाई राष्ट्रिय राजनीतिमा चासोसम्म पनि हुँदैन । विश्वराजनीतिमा रुचि हुँदैन । बहुसङ्ख्यकको ध्यान केवल परिश्रम गरेर आफ्नो जीवनलाई सरल पार्नेतर्फ केन्द्रित मात्र हुन्छ । मेहनत गरेर पैसा कमाउनुपर्छ र आरामको जीवन बिताउनुपर्छ नै अमेरिकी सपना रहेको पाइन्छ ।

बहुसङ्ख्यक अमेरिकीहरू उदार छन् । विदेशबाट आएका आप्रवासीहरूप्रति उनीहरूको भावना सहयोगात्मक किसिमको हुन्छ । यो देश विदेशीहरूको सोच, सीप र परिश्रमले बनेको र अमेरिका आफैंमा पनि आप्रवासीहरूको देश भएको उनीहरूलाई लाग्छ । यो कारणले गर्दा आप्रवासीहरूप्रति उनीहरूको नराम्रो धारणा रहेको पाइँदैन । कुनै रेस्टुरेन्टमा खाना जाँदा कुन रेस्टुरेन्टमा आफ्नो स्वाद अनुसारको खाना पाइन्छ, केन्द्रमा त्यो विचार राखेका हुन्छन्, कुन देशबाट आएको आप्रवासीले यो रेस्टुरेन्ट चलाएकोतर्फ अमेरिकीहरूले पटक्कै चासो लिंदैनन् । अमेरिकामा संसारभरिबाट आएका विभिन्न देशका आप्रवासीहरूले रेस्टुरेन्ट चलाएका छन्, कतिपयले आफ्नै गृह देशका अनेक परिकारहरू आफ्नो रेस्टुरेन्टमा राखेका छन्, नेपाली रेस्टुरेन्टहरूमा मम, सेकुआ, छोएला राखिएझैं । अरबी, अफ्रिकी, एशियाली, युरोपेली, मेक्सिकाली, लैटिनो गरी अनेक किसिमका खाना रोजेर खान पाइन्छ । यसरी अमेरिका आफैंमा एउटा अर्काे छुट्टै संसार हो जस्तो लाग्छ ।

बाहिरबाट हेर्दा अमेरिका जस्तो देखिन्छ र आम व्यक्तिहरूबाट अमेरिकाप्रति जुन धारणा बनाइएको छ, भित्रबाट अमेरिका ठीक त्यसको विपरीत छ । आम अमेरिकीहरूलाई विश्वमा हुने लडाइँ–झगडासँग कुनै मतलब छैन र त्यस लडाइँ–झगडामा अमेरिका संलग्न हुनुपर्छ भन्ने कुराको उनीहरूले विरोध पनि गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here