प्रस, वीरगंज, ३ कात्तिक/

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्सा जिल्लामा उम्मेदवार र दलहरूले आचारसंहिताको उल्लङ्घन गरिरहेका पाइएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समयमा २५ जनाभन्दा बढी मानिसको समूह लिएर उम्मेदवारी दर्तास्थलमा नजानको लागि आग्रह गरे पनि सो समयमा पनि आचारसंहिता उल्लङ्घन गरिएको थियो । सबैजसो दल र स्वतन्त्र उम्मेदवारहरूले बाजागाजासहित ठूलो सङ्ख्यामा भीडसहित उम्मेदवारी दर्ताका लागि गए पनि आयोगको जिल्लास्थित कार्यालयले एकजनासँग पनि स्पष्टीकरण सोधेन ।

त्यतिखेर आचारसंहिता उल्लङ्घनका घटनाहरू स्वयम् दल र उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए भने सञ्चारमाध्यममा पनि समाचार आएका थिए । अहिले चुनाव प्रचारको क्रममा आयोगले कात्तिक १८ देखि मङ्सिर २ गतेसम्म घरदैलोबाहेकका प्रचारप्रसारमा रोक लगाएको छ ।

जनसभा, कोणसभा, भेला आदिमा रोक लगाइए पनि अहिले पर्सा जिल्लामा दलहरूले कार्यकर्ता भेला, अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश कार्यक्रमलगायतका बहानामा चुनाव प्रचार गर्दै आएका छन् ।

सत्तारूढ गठबन्धनमा रहेका नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, र लोकतान्त्रिक समाजवादी पार्टी तथा जसपा–एमाले गठबन्धन र विभिन्न राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवारहरूले अहिले पनि २५ जनाभन्दा बढीको सङ्ख्यामा मानिसहरू भेला गरी चुनावी कार्यक्रम गर्दै आएका छन् ।

पर्सा क्षेत्र नं १ (ख)बाट प्रदेशसभा सदस्यका उम्मेदवार मधेस प्रदेशका मुख्यमन्त्री लालबाबूराउत गद्दीले एमालेसँगको सहकार्यमा जगरनाथपुर गाउँपालिकामा आयोजना गरेको कार्यकर्ता भेलामा ठूलो सङ्ख्यामा मानिसहरूको उपस्थिति थियो ।

यसैगरी, भर्खरै मन्त्री पदबाट बर्खास्त गरिएका जसपाबाट पर्सा क्षेत्र नं १ का उम्मेदवार प्रदीप यादवले दुई दिने रोड शो भीडभाडसहित सम्पन्न गरे । पर्साका चारवटै क्ष्Fेत्रमा अहिले घरदैलो कार्यक्रम भइरहेका छन् र त्यसमा आयोगले तोकेभन्दा बढी सङ्ख्यामा मानिसहरूको उपस्थिति रहने गरेको छ । तर आयोगले कसैसँग पनि आचारसंहिता उल्लङ्घन गरेको भनी सोधनी गरेको छैन ।

अहिले घरदैलो कार्यक्रममा डिजे, फ्लेक्स ब्यानर, पर्चा, पम्पलेटको प्रयोग पनि उत्तिकै छ । आयोगले डिजेमा रोक लगाएको छ भने तोकिएको मापदण्डमा फ्लेक्स ब्यानर, पर्चा–पम्पलेटको प्रयोग गर्नुपर्ने जनाएको छ । तर तोके अनुसारको मापदण्डमा प्रयोग भएको छैन र अनुगमन पनि गरिएको छैन ।

पहिलेका चुनावभन्दा अहिले आचारसंहिता कम उल्लङ्घन भएपनि जारी आचारसंहिता भने कुनै पनि दल वा स्वतन्त्र उम्मेदवारले इमानदारीपूर्वक पालना गरेका छैनन् । आयोगले पनि समानरूपमा दल र स्वतन्त्र उम्मदेवारलाई कारबाईको दायरामा ल्याउन सकेको छैन ।

घरदैलो कार्यक्रममा ससाना बालबालिकाहरूको उपस्थिति पनि गराइएको छ । निर्वाचन प्रचारमा बालबालिकाहरूको प्रयोग गर्न आचारसंहिताले निषेध गरेको छ तर यसको पालना पनि भएको छैन । 

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहालवाला जनप्रतिनिधि, शिक्ष्Fक, कर्मचारीलाई चुनाव प्रचारमा निषेध गरेको छ तर पर्सा जिल्लामा निर्वाचित जनप्रतिनिधिहरूको उपस्थिति घरदैलोदेखि लिएर चुनावीसभामा प्रशस्त देखिएका प्रमाणहरू छन् ।

जिल्ला निर्वाचन कार्यालय, पर्साकी प्रमुख रञ्जीता झाले आचारसंहिता उल्लङ्घनबारेमा उजूरी नपरेको बताइन् । उनले उजूरी परेको खण्डमा सो सम्बन्धमा छानबीन गर्ने र कारबाईको दायरामा ल्याउने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here