प्रस, सर्लाही, ३ कात्तिक/
सर्लाहीको वाग्मती नगरपालिका वडा नं १ स्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र प्रमुख साजन कार्कीलाई गोली प्रहार गरेको अरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, मलङ्गवामा बिहीवार दिउँसो पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेकामध्ये तीनजना भारतीय नागरिक हुन् ।
भारत बिहार राज्य शिवहर जिल्ला छपरा ग्राम पञ्चायतका १९ वर्षीय आलोक सिंह, बिहार वैशाली जिल्ला सुल्तानपुर ग्राम पञ्चायतका १९ वर्षीय सौरभकुमार यादव, बिहार मोतीहारी जिल्ला हजारा ग्राम पञ्चायतका १९ वर्षीय गुलशनकुमार सिंह र अर्का सर्लाहीको धनकौल–१ का ३२ वर्षीय धीरेन्द्र सहनी पक्राउ परेको जिप्रका, सर्लाहीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट प्रहरी निरीक्षक उमाशङ्कर साहको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई बुधवार साँझ बलरा नपा–७ गडहियास्थित एक घरमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
प्रहरी टोली घरमा पुग्दा अभियुक्तहरू भाग्न खोजेका र सो क्रममा प्रहरीले गोली चलाउनुपरेको थियो ।
प्रहरीको गोली लागी धनकौलका सहनी घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । घाइते सहनीको प्रादेशिक अस्पताल, मलङ्गवामा उपचार भइरहेको छ । उनीहरूबाट कुनै हातहतियार बरामद नभएको प्रहरीले जनाएको छ ।
बुधवार बिहान ११ बजेतिर मिलनचोकस्थित सहकारीमा लुटपाट गर्न आएका लुटेरासँग सहकारी प्रमुख कार्कीले प्रतिकार गर्दा कार्कीमाथि लुटेराहरूले चार राउन्ड गोली प्रहार गरेका थिए । कार्कीको तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेको छ । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।